नेतान्याहुको राजनीतिक भविष्य जोखिममा
काठमाडौं। इजरायलमा प्रधानमन्त्री चयनका लागि निर्वाचन सुरु भएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आफ्नो राजनीतिक भविष्य जोगाउन निर्वाचनमा छन्। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि देखिएको सुरक्षा असफलता, गाजामा जारी युद्ध, इरानसँगको द्वन्द्व र अन्तर्राष्ट्रिय रूपमा इजरायलमाथि बढ्दो दबाब अहिलेको निर्वाचनका प्रमुख मुद्दा छन्।
नेतान्याहुको लिकुड पार्टीको नेतृत्वमा रहेको दक्षिणपन्थी गठबन्धनलाई पूर्वसेनाप्रमुख गादी आइजेनकोटको नेतृत्वमा रहेको विपक्षी शक्तिको चुनौती छ। आइजेनकोटले सुरक्षा व्यवस्थामा सुधार, अक्टोबर ७ को घटनाबारे छानबिन र सरकारलाई जवाफदेही बनाउनुपर्ने विषय उठाएका छन्।
त्यस्तै, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट, यायर लापिड, अविग्दोर लिबरम्यान र यायर गोलान पनि इजरायलको चुनावी प्रतिस्पर्धामा महत्त्वपूर्ण विपक्षी नेताका रूपमा प्रतिष्पर्धामा छन्।
नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्ध र युद्धकालीन नेतृत्वलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। विपक्षी नेताहरूले भने उनको सरकारका सुरक्षा नीति र राजनीतिक निर्णयमाथि प्रश्न उठाएका छन्।
इजरायलका प्रधानमन्त्री नेतान्याहुका लागि यो निर्वाचन केवल सरकार गठन गर्ने प्रतिस्पर्धा होइन, आफ्नो लामो राजनीतिक यात्राको भविष्य सुरक्षित गर्ने निर्णायक परीक्षा पनि हो।
इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहुले करिब १९ वर्ष शासन संचालन गरिसकेका छन्। तर लामो राजनीतिक अनुभव र सत्ता जोगाउने क्षमताका बाबजुद यसपटक उनको राजनीतिक भविष्य सुनिश्चित देखिँदैन। निर्वाचनपूर्वका मत सर्वेक्षणले उनको लिकुड पार्टी र दक्षिणपन्थी सहयोगीहरूबीचको गठबन्धन तथा पूर्वसेनाप्रमुख गादी आइजेनकोटको नेतृत्वमा रहेको प्रतिस्पर्धी शक्तिबीच कडा प्रतिस्पर्धा हुने संकेत गरेका छन्।
नेतान्याहुले यसपटकको निर्वाचनमा ट्रम्पको समर्थनलाई सुरक्षा र रणनीतिक साझेदारीको प्रमाणका रूपमा अघि सारेका छन्। इरानबाट उत्पन्न खतरा अन्त्य गर्न आफू सत्तामा रहनुपर्ने उनको तर्क छ।
तर आइजेनकोटले नेतान्याहुमाथि डर, झूट र धम्कीको राजनीति गरेको आरोप लगाएका छन्। उनका अनुसार इजरायललाई सुरक्षा चुनौतीसँग जुध्न सक्षम नेतृत्वसँगै आन्तरिक विभाजन कम गर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्ने सरकार आवश्यक छ।
निर्वाचनको सबैभन्दा संवेदनशील मुद्दा भने सन् २०२३ अक्टोबर ७ को हमास आक्रमण रोक्न नसकेको सुरक्षा असफलता हो। उक्त आक्रमणमा करिब १ हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो। त्यसपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुरु गर्यो। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा ७४ हजार मानिसको मृत्यु भएको छ।
नेतान्याहुका आलोचकहरूले आक्रमणअघिको सुरक्षा कमजोरीबारे स्वतन्त्र राष्ट्रिय छानबिन हुनुपर्ने माग गरेका छन्। उनीहरूका लागि निर्वाचन सरकार परिवर्तनको सम्भावना मात्र नभई राज्यको सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्वलाई जवाफदेही बनाउने अवसर पनि हो। तर उनका समर्थकहरू भने युद्ध सञ्चालनमा नेतान्याहुको नेतृत्वलाई उचित ठान्छन् र उनलाई देशका लागि उपयुक्त नेता मान्छन्।
इजरायलको आगामी राजनीतिक दिशा गाजासँगै इरान र लेबनानसँगको द्वन्द्वले पनि निर्धारण गर्नेछ। इजरायलले इरान समर्थित हिजबुल्लाहलाई कमजोर बनाएको छ भने इरानका आणविक संरचनामाथि पनि आक्रमण गरेको छ। आइजेनकोटले इरानलाई सैन्य आणविक क्षमता हासिल गर्नबाट रोक्नुपर्नेमा जोड दिएका छन्। तर त्यसका लागि सैन्य कारबाही वा अमेरिकी समर्थनसहित कूटनीतिक सम्झौता कुन विकल्प प्रभावकारी हुन्छ भन्ने प्रश्न खुला छ।
निर्वाचनको अर्को निर्णायक पक्ष सरकार गठनका लागि आवश्यक गठबन्धन हो। इजरायलको १२० सदस्यीय संसदमा बहुमत जुटाउन कम्तीमा ६१ सिट आवश्यक पर्छ। नेतान्याहुले अतिदक्षिणपन्थी नेता इतामार बेन-गभिर र बेजालेल स्मोट्रिचको समर्थन लिनुपर्ने सम्भावना छ। तर उनीहरूको राजनीतिक प्रभाव र प्यालेस्टिनीप्रतिको नीतिले पश्चिमी मुलुकसँगको सम्बन्ध थप जटिल बनाउन सक्छ।
आइजेनकोटले पनि स्पष्ट बहुमत जुटाउने सुनिश्चितता छैन। अरब समुदायका मतदाताको सहभागिता र असन्तुष्ट लिकुड समर्थकहरूको मतले परिणाम बदल्न सक्छ। गठबन्धन बन्न नसके नेतान्याहु अर्को निर्वाचन नहुँदासम्म कामचलाउ प्रधानमन्त्री रहन सक्नेछन्।
