चिर्पटले टाउकोमा हानेर ६२ वर्षीय राजीको हत्या
सुर्खेत । सुर्खेतको गुर्भाकोटमा दाउराको चिर्पटले प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–८, सुन्दरनगरका ६२ वर्षीय मानबहादुर राजी रहेका छन्।
प्रहरीका अनुसार सोही ठाउँका ४० वर्षीय टेकबहादुर विकले ‘मैते’ उपनामले चिनिने व्यक्तिले राजीमाथि चिर्पटले प्रहार गरेका थिए। गएराति करिब ११ बजे भएको घटनामा राजीको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो।
घटनापछि घाइते राजीलाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो। त्यहाँ उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि राति नै कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो। तर, उनको अवस्था सुधार हुन नसकेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।
घटनामा संलग्न रहेको आरोपमा टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
