एसईई २०८४ का लागि रजिस्ट्रेशन र आवेदन फारम खुला
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८४ मा सहभागी हुने विद्यार्थीका लागि रजिस्ट्रेशन र परीक्षा आवेदन फारम भर्ने मिति तोकेको छ ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययन गरिरहेका विद्यार्थीले कात्तिक ९ देखि मङ्सिर १३ गतेसम्म रजिस्ट्रेशन फारम भर्नुपर्नेछ । त्यसका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै, एसईई २०८४ मा सहभागी हुने विद्यार्थीले परीक्षा आवेदन फारम पनि तोकिएको समयभित्र भरिसक्नुपर्नेछ । नियमित, खुला तथा प्राविधिक धारका विद्यालयमा अध्ययनरत विद्यार्थीले कात्तिक १ देखि मङ्सिर ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
परीक्षा आवेदन फारम भर्न प्रतिविद्यार्थी ५०० रुपैयाँ शुल्क लाग्नेछ । बोर्डले तोकिएको समयभित्र शुल्क बुझाएर फारम भर्न सम्बन्धित विद्यालय र विद्यार्थीलाई आग्रह गरेको छ ।
