`

ओलीको चेतावनी : देशमा स्वतन्त्रता र स्वाधीनता जोगाउन आन्दोलनको विकल्प छैन !

Nepal One HD १२ कार्तिक २०८३ १६:३९
बिशेष

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्वतन्त्रता र स्वाधीनताको अवस्था कमजोर हुँदै गएको दाबी गर्दै आन्दोलनको तयारीमा जुट्नुपर्ने बताएका छन्। राज्यले स्वतन्त्रताको अभ्यास गर्न नसक्ने अवस्था आएको उनको आरोप छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सदस्यमा मनोनीत तीन जनालाई पद तथा गोपनीयताको शपथ गराउँदै ओलीले देशलाई थप संकटतर्फ जानबाट रोक्न आन्दोलन आवश्यक रहेको बताए। उनले मुलुकले आफ्नो स्वतन्त्रता र स्वाधीनता उपयोग गर्न पाउनुपर्नेमा जोड दिए।

‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ,’ ओलीले भने, ‘देश कमसेकम स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ।’

उनले देशमा नागरिकले खुलेर बोल्न नसक्ने अवस्था सिर्जना भएको आरोपसमेत लगाए। राज्य आतंक र गुण्डाराज बढेको दाबी गर्दै ओलीले सरकार फासीवादतर्फ अघि बढिरहेको टिप्पणी गरे। उनका यी अभिव्यक्ति सरकारप्रतिको राजनीतिक आलोचनाका रूपमा आएका हुन्।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई लक्ष्य बनाएर आधुनिक नेपाल निर्माणको अभियान अघि बढाएको उल्लेख गर्दै ओलीले मुलुकलाई अहिलेको संकटपूर्ण अवस्थाबाट बाहिर निकाल्ने जिम्मेवारी पनि पार्टीको काँधमा रहेको बताए।

त्यसका लागि पार्टी सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। पार्टीभित्र कार्यकर्ताको उत्साह बढाउन, जनतामा एमालेप्रतिको आकर्षण फर्काउन र घोषित लक्ष्य हासिल गर्न संगठनलाई थप व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए।

गत वर्ष फागुन २१ गते भएको निर्वाचनलाई ओलीले सामान्य चुनाव नभई ‘प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला’को संज्ञा दिए। एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेको दाबी गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने विश्वाससमेत व्यक्त गरे।

कार्यक्रममा केन्द्रीय सदस्यमा मनोनीत इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *