कांग्रेस आफैँमा तरुण बन्दै गएको अनुभूति भएको छ : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिमा युवा, द्वन्द्वपीडित र सहिद परिवारसहित विभिन्न क्षेत्रका व्यक्तित्वको प्रतिनिधित्व बढेको बताएका छन् ।
बिहीबार केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै शर्माले कांग्रेसको नयाँ नेतृत्वमा युवासहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता बढेको बताएका हुन् ।
उनले भने, ‘आज शपथ लिँदै गर्दा नेपाली कांग्रेस तन्नेरी नेपाली कांग्रेस, स्वयं आफैँमा तरुण, तरुण बन्दै गएको अनुभूति भएको छ। हामीले जहिले पनि द्वन्द्व प्रभावितको कुरा हामी बसेर गर्यौँ। तर स्वयं प्रभावितहरू अहिले यहाँ केन्द्रीय कार्यसमितिमा निर्वाचित भएर आउनुभएको छ। हामीले सहिद परिवारको कुरा गर्यौँ, प्रजातन्त्र सेनानीको कुरा गर्यौँ। पेसा र व्यवसायको कुरा गर्यौँ। तर अहिले त्यो सम्बन्धित क्षेत्रका व्यक्तित्वहरू नै यहाँ नेतृत्वमा आउनुभएको छ।’
शर्माले नेपाली युवाको चाहना बुझ्न संवाद गर्दै आएको कांग्रेसमा अहिले युवाकै प्रतिनिधित्व बढेको बताए। उनका अनुसार ३५ वर्षमुनिका ३५ हजारभन्दा बढी युवा विभिन्न तहमा निर्वाचित भएर आएका छन् ।
‘हामीले नेपाली युवाहरू के चाहन्छन् भनेर संवादहरू गर्यौँ। तर अहिले नेपाली युवाहरूकै प्रतिनिधित्व गर्दै ३५ हजारभन्दा बढी युवाहरू विभिन्न तहमा ३५ वर्षमुनिका निर्वाचित भएर आउनुभएको छ र केन्द्रीय समितिमा आउनुभएको छ,’ उनले भने।
उनले यसपटकको महाधिवेशन अघिल्लो महाधिवेशनको तुलनामा बढी जटिल र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रतिकूल परिस्थितिका बाबजुद महाधिवेशन सफल बनाउन भूमिका खेल्ने निर्वाचन समितिलाई धन्यवाद दिए ।
शर्माले निर्वाचन समितिमा रहेर समन्वयकारी भूमिका निर्वाह गरेको भन्दै प्रेमबहादुर खड्काको प्रशंसा गरे। उनले केन्द्रदेखि गाउँ–गाउँसम्म पुगेर पार्टीको महाधिवेशन सफल बनाउन योगदान दिने सबैलाई सम्मान व्यक्त गरे।
उनले कांग्रेसको ऐतिहासिक विरासतलाई जोगाउँदै वर्तमानलाई जिम्मेवार र भविष्यलाई सुन्दर बनाउने संकल्प नयाँ नेतृत्वले गर्नुपर्ने बताए ।
‘जुन कालखण्डमा नेपाली कांग्रेसको परिकल्पना भयो, त्यो कालखण्डमा यो हलमा रहेका हामी कोही जन्मेकै थिएनौँ। नेपाली कांग्रेसले त्यो बेलामा देशका लागि सुरु गरेको इतिहासको त्यो यात्रा तपाईं–हाम्रो काँधमा आइपुग्दै गर्दा हामीले गह्रुँगो जिम्मेवारी अनुभूति गर्नुपर्छ,’ उनले भने ।
शर्माले नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई आफूलाई मत दिएर विश्वास गर्ने प्रत्येक मतदाताप्रति इमानदार रहन आग्रह गरे । केन्द्रीय समितिमा निर्वाचित हुँदैमा आफूहरू नै सबैभन्दा लोकप्रिय, योग्य वा सक्षम भएको नठान्न पनि उनले सचेत गराए ।
‘हामीलाई विश्वास गरेर पठाउनुभएका साथीहरूको प्रत्येक मतप्रतिको इमानदारिता जरुरी छ । सँगैमा यो पनि हेक्का राख्नुछ कि हामी नै सबैभन्दा लोकप्रिय, हामी नै सबैभन्दा योग्य वा हामी नै सबैभन्दा सक्षम हौँ भन्ने होइन। बाहिर पालमा बसेर हेरिरहनुभएका साथीहरू, मेची–महाकालीमा रहेका साथीहरू प्रतिस्पर्धाको क्रममा कम मत आएर केन्द्रीय कार्यसमितिभन्दा कारणवश, संयोगवश बाहिर रहनुभएका साथीहरू कैयौँ हामीभन्दा योग्य पनि हुनुहुन्छ,’ उनले भने ।
उनले पार्टीको इतिहासप्रतिको गर्वलाई वर्तमानको जिम्मेवारीसँग जोड्दै आगामी दिनमा कांग्रेसलाई अझ जिम्मेवार र प्रभावकारी बनाउने दायित्व नयाँ नेतृत्वको काँधमा रहेको बताए ।
