`

इलाममा डा. गोविन्द केसीको सत्याग्रह, चिकित्सा शिक्षा आयोगका निर्णयमाथि उठाए प्रश्न

Nepal One HD १३ कार्तिक २०८३ २०:१०
समाचार

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले इलाममा सत्याग्रह सुरु गरेका छन् । इलाम बजार स्थित नारायणस्थानमा उनले २५ औँ सत्याग्रह सुरु गरेका हुन् ।

केसीले चिकित्सा शिक्षा आयोगका निर्णयमा स्वार्थको द्वन्द्व रहेको प्रश्न उठाउँदै विवादित निर्णय खारेज गर्न र चिकित्सा शिक्षा क्षेत्रमा सुधारका माग राख्दै सत्याग्रह सुरु गरेका छन् । इलाम नगरपालिका ६ नारायणथानको मन्दिरमा उनले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन । डा. केसी यस अघि पनि इलाममा सत्याग्रह बसेका थिए । इलाममा उनको यो दोस्रो सत्याग्रह हो ।

बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत डा. केसीले न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरेका संस्थामा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको तथा विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको पूर्व संस्था सहित विभिन्न मेडिकल कलेजका विषय उठाउँदै आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, व्यावसायिक अनुभव र निर्णयमा सम्भावित स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् । छानबिनका क्रममा दोषी ठहरिने पदाधिकारीलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ । डा. केसीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी शैक्षिक कार्यक्रम विस्तार गर्दा चिकित्सा शिक्षाको गुणस्तरमा असर पर्ने र नागरिकको स्वास्थ्यमा असर पर्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *