रास्वपाको धारणा आएपछि मात्रै महाअभियोगबारे निर्णय गर्छौँ : आङ्देम्बे [भिडिओ]
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको प्रस्तावबारे प्रतिपक्षी दलहरू तत्काल कुनै निष्कर्षमा नपुग्ने बताएका छन्। उनले सत्तारुढ दलको आधिकारिक धारणा र त्यसको तयारी स्पष्ट भएपछि मात्रै विपक्षी दलहरूले आफ्नो रणनीति तय गर्ने बताएका हुन्।
सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले महाअभियोगजस्तो संवेदनशील विषयमा हतारमा निर्णय गर्न नहुने धारणा राखे।
उनका अनुसार महाअभियोग अघि बढाउने विषयमा सत्तापक्षभित्रै स्पष्ट सहमति देखिएको छैन। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस विषयमा कस्तो प्रस्ताव अघि सार्छ र पार्टीको निर्णयलाई संसदीय दलले कसरी कार्यान्वयन गर्छ भन्ने कुरा पनि स्पष्ट हुन बाँकी छ।
‘उहाँहरूले दिएको निर्देशन उहाँहरूको संसदीय दलले मानिरहेको छ कि छैन भन्ने कुरा पनि हामीलाई थाहा छैन,’ आङ्देम्बेले भने, ‘यस्तो गम्भीर र महत्वपूर्ण विषयमा संसद्भित्र रहेका दलका पार्टीहरूले कसरी चासो व्यक्त गर्छन् र त्यो चासोलाई संसद्ले कसरी ग्रहण गरेर अघि बढ्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’
आङ्देम्बेले पार्टीको राजनीतिक निर्णय र संसदीय दलको भूमिकाबीच एकरूपता हुनुपर्नेमा जोड दिए। पार्टीले एउटा निर्णय गर्ने तर संसद्मा त्यसको विपरीत गतिविधि हुने अवस्था आएमा त्यसको औचित्य नरहने उनको भनाइ छ।
महाअभियोगको विषयलाई संसद्मा रहेका राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै उनले सत्तापक्षको स्पष्ट र विश्वसनीय प्रस्ताव आएपछि मात्रै प्रतिपक्षी दलहरूबीच थप छलफल हुने बताए।
सत्तापक्षले आफ्नो धारणा स्पष्ट पारेपछि विपक्षी दलहरू आपसमा छलफल गरेर साझा दृष्टिकोण बनाउने उनको भनाइ छ। आङ्देम्बेले सकारात्मक र जनहितका काममा प्रतिपक्षी दलहरूले विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
