बालेनको चेतावनीपूर्ण अभिव्यक्तिपछि गगन थापाको प्रतिक्रिया – ‘तर्सिने बानी परेन’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन्। थापाले आफूलाई धम्की वा दबाब दिएर प्रभावित पार्न नसकिने संकेत गर्दै ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’ भनेका छन्।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ’ भन्दै अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका बेला कांग्रेस सभापति थापाले पनि सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’
उनको यो अभिव्यक्तिलाई प्रधानमन्त्री शाहको भनाइप्रति लक्षित राजनीतिक प्रतिक्रियाका रूपमा हेरिएको छ। थापाले आफ्नो टिप्पणीमार्फत कसैको चेतावनी, दबाब वा धम्कीबाट पछि नहट्ने सन्देश दिन खोजेको देखिन्छ।
