ओली, वैद्य र मोहनविक्रमलाई एकतामा आउन प्रचण्डको आह्वान
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश गम्भीर सङ्कटमा परेको भन्दै सबैखाले आग्रह-पूर्वाग्रह त्यागेर बृहत् कम्युनिस्ट एकतामा जुट्न आह्वान गरेका छन् ।
मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता मोहन वैद्यलगायत विगतमा सहकार्य गरेका वामपन्थी नेताहरूलाई एकताको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।
‘म यहीँबाट कमरेड केपी ओली, मोहनविक्रम सिंह, मोहन वैद्यलगायत विगतमा सहकार्य गरेका सबै कमरेडहरूलाई आह्वान गर्न चाहन्छुश्- देश सङ्कटमा छ, त्यसैले सबैखाले आग्रह र पूर्वाग्रहबाट मुक्त भएर एकताको यो महाअभियानमा जुटौँ’, उनले भने ।
सम्बोधनका क्रममा प्रचण्डले शान्ति प्रक्रियामा प्रवेश गरेदेखि नै कम्युनिस्ट पार्टीहरूबीच एकताका लागि आफूले पटक-पटक पहल गरेको स्मरण गरे । संविधान जारी भएपछि जनताले कम्युनिस्ट पार्टीहरूबाट ठूलो अपेक्षा गरेकाले पुनः एकताको प्रस्ताव लिएर तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीकहाँ पुगेको उनले बताए ।
‘सजिलैसँग एकता नहुने देखेपछि मैले तपाईं नै प्रधानमन्त्री बन्नोस् भनेको थिएँ’, विगत सम्झिँदै प्रचण्डले भने, ‘त्यसपछि तत्काल चुनावी कार्यगत एकता र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमति भयो । निर्वाचनमा हामीले झन्डै दुईतिहाइ मत पनि प्राप्त गर्यौँ ।’
निर्वाचनबाट प्राप्त जनमत देशमा सुशासन र समाजवादको आधार तयार पार्ने सुनौलो अवसर भएको उल्लेख गर्दै उनले दुर्भाग्यवश त्यसलाई जोगाउन नसकिएको स्वीकार गरे ।
विगतको पार्टी एकता असफल भए पनि त्यसबाट निराश हुनुभन्दा पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । देश र जनताको हितलाई केन्द्रमा राखेर पुनः कम्युनिस्ट एकता र ध्रुवीकरणको पहल थालिएको बताउँदै प्रचण्डले अहिलेको सहकार्य त्यसैको सुरुआत भएको स्पष्ट पारे ।
