कम्युनिस्ट एकताका लागि ओली, वैद्य र विप्लवलाई प्रचण्डको अपिल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान संकट समाधान र समाजवादको लक्ष्य प्राप्तिका लागि सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।
मंगलबार नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरूलाई एकता प्रक्रियामा सहभागी हुन आह्वान गरे।
प्रचण्डले व्यक्तिगत आग्रह–पूर्वाग्रह र संकीर्णता त्यागेर राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले विगतमा एमाले र माओवादी केन्द्रबीच भएको एकताले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरे पनि त्यसलाई तीन वर्षसम्म टिकाउन नसकिएकोमा दुःख व्यक्त गरे।
यसैगरी, उनले पार्टीकी नवनियुक्त महासचिव उमा भुजेलको राजनीतिक योगदानको प्रशंसा गर्दै प्रहरी चौकी कब्जा, गोरखा जेल ब्रेक र विभिन्न क्रान्तिकारी समूहलाई एकताबद्ध गर्न खेलेको भूमिकालाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे।
प्रचण्डले कम्युनिस्ट एकताको अभियानलाई थप विस्तार गर्दै देशमा कम्युनिस्ट शक्तिको नेतृत्व स्थापित गर्नुपर्ने बताए।
