`

शक्तिशाली सरकारले जनतालाई तर्साउने होइन, जनताको पक्षमा काम गर्नुपर्छ : रामहरि खतिवडा

Nepal One HD १९ कार्तिक २०८३ ११:३६
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले शक्तिशाली सरकारले जनतालाई तर्साउने नभई जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन्।

ब्याकुल माइला गोल्डकपको दशौँ संस्करणलाई सम्बोधन गर्दै खतिवडाले लामो समयपछि मुलुकमा दुई तिहाइको नजिक रहेको बलियो सरकार बनेको उल्लेख गर्दै त्यसलाई पाँच वर्षसम्म स्थिर रूपमा सञ्चालन गर्नुपर्ने बताए।

‘सरकार अहिले धेरै समयपछि दुई तिहाइको नजिक छ। यो सरकार पाँच वर्षका लागि हुनुपर्छ। शक्तिशाली सरकारले जनताको पक्षमा काम गर्नुपर्छ, तर्साउने काम गर्नु हुँदैन,’ उनले भने।

उनले राज्यका महत्वपूर्ण निकायको गरिमा कायम राख्नुका साथै कर्मचारीहरूको मनोबल उच्च बनाउने जिम्मेवारी सरकारकै भएको बताए। न्यायपालिका, कार्यपालिका, निजामती प्रशासन र प्रहरी संगठनको मनोबल गिराउने गतिविधि स्वीकार्य नहुने उनको भनाइ थियो।

देश सञ्चालन व्यक्तिगत सनक र इच्छाका आधारमा नभई संविधान र कानुनअनुसार हुनुपर्नेमा जोड दिँदै खतिवडाले संविधानको अक्षरशः पालना र विधिको शासनप्रति सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।

तस्वीरहरू:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *