`

को हुन् देश हल्लाएका महाबिचौलिया इनम सापकोटा?

रामचन्द्र जोशी १९ कार्तिक २०८३ १३:३३
फिचर

काठमाडाैं। आँखामा चट्ट कालो चस्मा, कर्ली-कर्ली कपाल, मिलेको दारी, ढल्केको जवानी। सर्वोच्च अदालत मुठीमा, गगन थापादेखि शेरबहादुर देउवासम्मको कनेक्सन, बालेनको चुनावी प्रचारकर्ता, वर्तमान सरकारका मन्त्रीहरूसँग बाक्लो उठबस।

सरकारी पद छैन, जनताले चुनेको जिम्मेवारी छैन, राज्यको कुनै औपचारिक हैसियत छैन। तर पहुँच यस्तो कि प्रधानमन्त्रीको सचिवालयदेखि प्रहरीका हाकिम, सशस्त्र प्रहरीका उच्च अधिकारी र सर्वोच्च अदालतका न्यायाधीशसम्म संवाद!

आखिर ३१ वर्षीय इनम सापकोटाको त्यस्तो के शक्ति थियो, जसका अगाडि राज्यका शक्तिशाली पात्रहरू नै जोडिन पुगे? करोडौँ करोडका चलखेल गरेर सिङ्गो देशको राजनीतिक–प्रशासनिक संयन्त्रलाई तर्साइदिएका सापकोटा को हुन्? कसरी छोटो समयमै उनी नेपालको राजनीतिक, प्रशासनिक र सुरक्षा संयन्त्रका शक्तिशाली व्यक्तिहरूसँग जोडिन पुगे? अनि के त्यस्तो शक्ति थियो, जसले उनलाई देशका ठूला मुद्दा र निर्णय प्रभावित पार्न सक्ने बिचौलियाका रूपमा स्थापित गर्‍यो?

इनम पक्राउ परेपछि बाहिरिएका विवरणले एउटा व्यक्तिको गतिविधिभन्दा धेरै ठूलो सञ्जालको सङ्केत गरेका छन्। प्रधानमन्त्रीको नाम लिएर न्यायाधीशलाई आश्वस्त पार्ने, प्रहरी अधिकारीलाई सरुवा–बढुवाको आशा देखाउने, सुरक्षा निकायका अधिकारीलाई पदावधि थप्ने भरोसा दिलाउने र विचाराधीन मुद्दामा समेत चासो राख्ने! यी सबै गतिविधि अनुसन्धानका विषय बनेका छन्।

सापकोटा अहिले काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन्। उनको मोबाइल फोन, बैंकिङ कारोबार र विभिन्न व्यक्तिसँगको सम्पर्कमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत उनीसँग सम्बन्धित आर्थिक कारोबारको अनुसन्धान अघि बढाएको छ।

तर इनमको चर्चा उनको पक्राउसँग मात्रै सीमित छैन। उनको चर्चा देशको राजनीतिक नेतृत्व, न्यायालय र सुरक्षा निकायसम्म फैलिएको सम्भावित सञ्जालका कारण भइरहेको छ।

झापाको दमकमा सामान्य पारिवारिक पृष्ठभूमिमा हुर्किएका इनम कुनै समय सामान्य युवाका रूपमा चिनिन्थे। २०५२ सालमा जन्मिएका उनी दमक नगरपालिका–५ का राम सापकोटाका एक्ला छोरा हुन्। उनका बुवा स्वास्थ्य सहायक अर्थात् एचए हुन्। उनी लुथरन वर्ल्ड फेडरेसन नामक संस्थामा कार्यरत थिए।

इनमको परिवारको मूल घर इलामको साविक फुँएतप्पा हो। परिवार बसाइँ सरेर गौरादहको चप्रामारी हुँदै दमक पुगेको थियो। दमक–५ मा टिनको छानो भएको सामान्य घर बनाएर बसेको परिवारले पछि त्यो घर बेचेर दमक–१३ मा पक्की घर बनाएको थियो। उक्त घरसमेत बिक्री गरेपछि उनको परिवार काठमाडौं सरेको बताइन्छ।

दमकको मदरल्यान्ड इङ्लिस बोर्डिङ स्कुलमा कक्षा दुईसम्म अध्ययन गरेका उनले त्यसपछि सूर्योदय इङ्लिस सेकेन्डरी स्कुलमा पढे। माध्यमिक शिक्षापछि ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलबाट विज्ञान विषयमा प्लस टु पूरा गरे।

त्यसपछि उनी उच्च शिक्षा अध्ययनका लागि भारत गएको बताइन्छ। उनले दिल्लीमा एमबीबीएस अध्ययन गर्न गएको चर्चा भए पनि उनका एक आफन्तले भने हरियाणामा पारामेडिकल विषय पढेको बताएका छन्। त्यसपछि जर्मनी पुगेका इनमले जलवायु परिवर्तनसम्बन्धी विद्यावारिधि अध्ययनका लागि गएको दाबी गरिएको छ। तर त्यो अध्ययन पूरा नगरी अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा भर्ना भएको बताइन्छ। यद्यपि त्यहाँ उनको अध्ययन कुन तहसम्म पुगेको थियो भन्ने स्पष्ट छैन।

सामान्य पारिवारिक पृष्ठभूमिबाट अन्तर्राष्ट्रिय शैक्षिक संस्थासम्म पुगेका इनमको जीवनमा निर्णायक मोड भने पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारसँगको सम्बन्धबाट आएको देखिन्छ। लिटिल एन्जल्स स्कुलमा अध्ययन गर्दा चोलेन्द्रशमशेर जबराका छोरासँग उनको चिनजान भएको बताइन्छ। यही पुरानो मित्रताका कारण उनी जबरासम्म पुगे। त्यसपछि उनको सम्पर्क र पहुँच उच्च राजनीतिक तथा प्रशासनिक वृत्तसम्म विस्तार भएको अनुसन्धानमा संलग्न स्रोतहरूको दाबी छ।

प्रहरीको अनुसन्धानमा इनमको नाम जोडिनुको प्रमुख आधार पनि जबराको मोबाइल फोनबाट भेटिएको सम्पर्क विवरण हो। असोज १० गते राति प्रहरीले जबरालाई नियन्त्रणमा लिएर मोबाइल परीक्षण गर्दा इनमसँग पटक–पटक सम्पर्क भएको विवरण फेला परेको थियो। त्यसपछि प्रहरीले इनममाथि निगरानी बढायो। त्यही क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेको अवस्थामा पक्राउ परे।

तर प्रश्न यतिमै सकिँदैन। चोलेन्द्रसँगको सम्पर्कले इनमलाई कहाँसम्म पुर्‍यायो? उनी कसरी न्यायालय र सुरक्षा निकायका उच्च अधिकारीहरूसँग समेत नजिक भए?

प्रहरीका अनुसार इनमले विभिन्न मुद्दा अदालतमा मिलाइदिने, प्रहरी अधिकारीहरूको सरुवा तथा बढुवामा सहयोग गर्ने र उच्च तहमा पहुँच पुर्‍याइदिने आश्वासन दिएको देखिने सन्देशहरू मोबाइलमा फेला परेका छन्। उनीमाथि न्यायाधीशहरूलाई प्रभावित पार्ने प्रयास गरेको र विभिन्न संवेदनशील मुद्दामा बिचौलियाको भूमिका खेलेको आरोप छ।

ललितपुरस्थित होटल हिमालयमा न्यायाधीशहरूसँग भएको भनिएको भेटघाटले पनि यो प्रकरणलाई थप गम्भीर बनाउँछ।

इनमको सम्पर्क पूर्वप्रधानन्यायाधीश जबरामा मात्रै सीमित छैन। सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरका आरोपमा अनुसन्धान तथा हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग पनि उनको सम्बन्ध देखिएको प्रहरी स्रोतको दाबी छ। व्यवसायी सुलभ अग्रवाल र लगानी बोर्डका पूर्वकार्यकारी अधिकृत सुशील भट्टसँग पनि उनको सम्पर्क र आर्थिक कारोबारबारे अनुसन्धान भइरहेको छ।

प्रहरीकै अनुसार इनमले दीपक भट्ट र चोलेन्द्रशमशेर जबराबीच सम्पर्क तथा सूचना आदानप्रदान गराउने माध्यमका रूपमा काम गरेका थिए। स्वयं इनमले पनि विभिन्न प्रकरणमा आफूलाई प्रयोग गरिएको बयान दिएका छन्। मंगलबार जनआस्था, नेपाल लिड, सिधाकुरालगायतका सञ्चारमाध्यममा सार्वजनिक भएका सापकोटाको बयानमा राजनीतिक, आर्थिक तथा न्यायिक क्षेत्रका व्यक्तिहरूको नाम समावेश छन्।

इनमको पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग निकट सम्बन्ध रहेको र उनले मन्त्रीको गाडीसम्म प्रयोग गर्ने गरेको स्रोतहरूको दाबी छ। पानीपोखरीस्थित उनको अपार्टमेन्टमा आरजुको आउजाउ हुने गरेको बताइन्छ। कांग्रेसका अन्य नेताहरू दीपक खड्का र बालकृष्ण खाँणसँग पनि उठबस हुने गरेको इनमले बयानमा बताएका छन्।

साथै, उनले कांग्रेस सभापति गगन थापाले कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दामा आफूलाई भेटेको दाबी गरेका छन्। उनका अनुसार थापाले विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी मुद्दामा प्रभाव पार्न र निर्णय आफ्नो पक्षमा पार्न १८ करोडको चलखेल गरेका छन्।

अर्कोतर्फ, २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट उम्मेदवार बनेका बालेन शाहको चुनावी प्रचारमा पनि इनम सक्रिय रहेको विवरण सार्वजनिक भएको छ। बालेनको चुनावी सचिवालय र समर्थकहरूसँगै उनी दमकमा सक्रिय थिए। निर्वाचन पर्यवेक्षकका रूपमा परिचालित भएको उनको कार्डसमेत सार्वजनिक भएको छ।

यसले अर्को गम्भीर प्रश्न जन्माउँछ। कुनै व्यक्तिले राजनीतिक नेतृत्वसँगको निकटता देखाएर न्यायालय, प्रहरी र प्रशासनसम्म आफ्नो प्रभाव विस्तार गर्न सक्छ? प्रधानमन्त्रीको नाम प्रयोग गरेर कसैले राज्यका संस्थाहरूलाई प्रभावित पार्न खोजेको हो भने त्यसको जवाफदेहिता कसले लिने?

इनमको विदेश यात्राको विवरणले पनि अनुसन्धानलाई थप पेचिलो बनाएको छ। पछिल्ला दस वर्षमा उनी १५ पटक भारत र जर्मनी आउजाउ गरेको विवरण सार्वजनिक भएको छ। सन् २०२१ मा जर्मनी गएका उनी करिब दुई वर्ष त्यहाँ बसेर नेपाल फर्किएका थिए।

त्यसपछि पुनः जर्मनी गएको र भारतको दिल्लीमा समेत पटक–पटक आउजाउ गरेको देखिन्छ। उनको नेपाली राहदानीको म्याद २०८२ पुस ८ गते सकिएको विवरण छ। त्यसपछि पनि उनी भारत गएको र फर्किएको बताइएको छ। पछिल्लो पटक २०८३ साउन २३ गते दिल्ली गएर चार दिनपछि फर्किएको विवरण सार्वजनिक भएको छ।

अहिले प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको बैंकिङ कारोबार, सम्पत्तिको स्रोत, विदेश यात्रादेखि विभिन्न व्यक्तिसँगको सम्पर्कसम्मका विषयमा अनुसन्धान गरिरहेका छन्।

तर इनम सापकोटा प्रकरणको सबैभन्दा ठूलो प्रश्न अझै अनुत्तरित छ। उनी आफैँ यति ठूलो सञ्जाल सञ्चालन गर्ने व्यक्ति हुन् कि अरू शक्तिशाली व्यक्तिहरूको स्वार्थ पूरा गर्ने माध्यम मात्रै? सामान्य परिवारबाट आएका एक युवक कसरी राजनीतिक नेतृत्व, न्यायालय, सुरक्षा निकाय र व्यवसायीहरूको सम्पर्कको केन्द्रमा पुगे? करोडौँको चलखेल भएको भनिएका प्रकरणमा उनको वास्तविक भूमिका के थियो? प्रधानमन्त्रीदेखि न्यायाधीशसम्मको नाम प्रयोग गरेर उनले कसलाई प्रभावित पार्न खोजे?

यी प्रश्नको जवाफ अनुसन्धानले दिन बाँकी छ। तर एउटा कुरा स्पष्ट छ–इनम सापकोटा प्रकरण केवल एक युवकको पक्राउको विषय होइन। यो नेपालको राज्य संयन्त्रभित्र राजनीतिक पहुँच, आर्थिक स्वार्थ र संस्थागत प्रभावको सम्भावित गठजोड कति गहिरो छ भन्ने जाँच्ने अवसर पनि हो।

अब अनुसन्धानले इनमलाई मात्रै होइन, उनको सञ्जालमा जोडिएका भनिएका सबै शक्तिशाली पात्रलाई पनि निष्पक्ष रूपमा छानबिन गर्न सक्छ कि सक्दैन? देशले खोजेको जवाफ यही हो। सुशासनको मानक निष्पक्ष अनुसन्धानपछिको कारबाही हो। आम नागरिकको चाहना पनि यही हो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *