`

इनमको कनेक्सनले न्यायालयमा पनि भुइँचालो

Nepal One HD १९ कार्तिक २०८३ १४:५३
बिशेष

काठमाडौं । बिचौलियाको आरोपमा अनुसन्धानमा रहेका इनम सापकोटाको कनेक्सनले न्यायालयभित्रै हलचल मच्चाएको छ ।

सापकोटासँग प्रधानन्यायाधीशदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्मको नाम जोडिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलास दुई सातादेखि ठप्प छ । हरेक बुधबार प्रधानन्यायाधीशको नेतृत्वमा बस्नुपर्ने संवैधानिक इजलास नै विवादको छायामा परेपछि महत्वपूर्ण मुद्दाको सुनुवाइ प्रभावित भएको छ ।

सापकोटासँगको संवाद र भेटघाटसम्बन्धी विवरण सार्वजनिक भएपछि न्यायालयको नेतृत्वमाथि नै प्रश्न उठेको हो । प्रधानन्यायाधीश डा. मनोजकुमार केसी र न्यायाधीश हरिप्रसाद फुयालको नामसमेत सापकोटासँग जोडिएर बाहिरिएको थियो । सापकोटाले मुद्दाका विषयमा न्यायाधीशहरूसँग संवाद गरेको भनिएका सन्देश सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

विवादमा तानिएका न्यायाधीश फुयालले सापकोटासँग भेटेको स्वीकार गरिसकेका छन् । उनले आफू मात्रै नभई अन्य न्यायाधीशले पनि सापकोटालाई भेटेको बताएका थिए । तर, ती न्यायाधीश को–को हुन् भन्ने खुलाउन भने चाहेनन् । मुद्दाको आदेशका लागि आर्थिक लेनदेन भएको भन्ने आरोपसमेत उनले अस्वीकार गरेका छन् ।

सापकोटाले सार्वजनिक भएका सन्देशमा प्रधानन्यायाधीशको नामसमेत उल्लेख गरेका थिए । त्यसपछि प्रधानन्यायाधीश सुनुवाइ प्रक्रियामा सहभागी नभएको अवस्था छ । उनी अन्य इजलासमा पनि बसेका छैनन् भने आफ्नै नेतृत्वमा बस्नुपर्ने संवैधानिक इजलाससमेत अघि बढ्न सकेको छैन ।

पछिल्लो पटक असोज २१ गते न्यायाधीश फुयाललाई समेत समेटेर संवैधानिक इजलास गठन गरिएको थियो । तर, इजलास गठनको प्रक्रियामै प्रश्न उठाउँदै फुयाल बस्न नमानेपछि त्यस दिन पनि सुनुवाइ हुन सकेन । त्यसयता संवैधानिक इजलास नै बस्न सकेको छैन ।

अहिले विवादको केन्द्रमा रहेका न्यायाधीश फुयाल एक साताको बिदामा बसेका छन् । उनको बिदासँगै सापकोटासँग भेटेको भनेर नाम जोडिएका अन्य न्यायाधीशको अवस्थासमेत अन्योलपूर्ण बनेको छ । एकातिर न्यायाधीशहरूको नाम जोडिएको विवाद छ, अर्कोतिर संवैधानिक इजलास सञ्चालन गर्ने जिम्मेवारी । त्यसमाथि अब तिहार बिदा सुरु हुने भएकाले इजलासको नियमित कामकाज थप लम्बिने देखिएको छ ।

उता, प्रधानन्यायाधीश र न्यायाधीशहरूले सापकोटासँगको विवादित कनेक्सन अस्वीकार गर्दै आएका छन् । यता, सापकोटा भने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रहरीले उनीमाथि अनुसन्धान जारी राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *