रिपब्लिकनलाई जिताउने अभियानमा मस्कको ४५ करोड डलर स्वाहा !
एजेन्सी। अमेरिकी अर्बपति एलन मस्कले मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई जिताउन करिब ४५ करोड डलर खर्च गरे पनि डेमोक्र्याटिक पार्टीले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेपछि उनको राजनीतिक लगानी चर्चामा आएको छ ।
निर्वाचनमा कुनै एक व्यक्तिले खर्च गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको दाबी गरिएको छ ।
मस्कले टेक्सस, एरिजोना, मिसिगन, विस्कन्सिन र मिनेसोटालगायत राज्यका विभिन्न निर्वाचन क्षेत्रमा रिपब्लिकन उम्मेदवारको पक्षमा ठूलो रकम परिचालन गरेका थिए । विशेषगरी टेक्ससमा सिनेट सिटका लागि भएको प्रतिस्पर्धामा डेमोक्र्याटिक उम्मेदवार जेम्स टालारिकोले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनलाई पराजित गरेपछि मस्कको खर्चमाथि थप चर्चा सुरु भएको हो । एक प्रतिवेदनअनुसार प्याक्सटनको समर्थनमा मात्रै मस्कले कम्तीमा चार करोड ५० लाख डलर खर्च गरेका थिए ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि मस्कले सामाजिक सञ्जाल एक्समा व्यङ्ग्य गर्दै आफ्नो ‘निर्वाचनमा हस्तक्षेप गर्ने अन्तरिक्षीय लेजर’ले काम नगरेको टिप्पणी गरे । यसअघि उनले डेमोक्र्याटिक उम्मेदवारहरू विजयी भए आप्रवासन बढ्ने, वासिङ्टन डिसी र पोर्टो रिको राज्य बन्ने तथा सर्वोच्च अदालतका न्यायाधीशको सङ्ख्या बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । निर्वाचनपछि भने उनले तीमध्ये केही टिप्पणी हटाएका छन् ।
रिपब्लिकन उम्मेदवारको पराजयसँगै मस्कका कम्पनी टेस्ला र स्पेसएक्सको सरकारी सम्बन्ध तथा नियमनबारे बहस चर्किएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि स्पेसएक्सले करिब १० अर्ब डलर बराबरका नयाँ सरकारी ठेक्का पाएको बताइएको छ ।
डेमोक्र्याटिक सांसदहरूले राष्ट्रिय सुरक्षा र सरकारी काममा स्पेसएक्सको बढ्दो भूमिकाबारे छानबिन गर्नुपर्ने माग अघि सारेका छन् । सरकारी ठेक्का, सार्वजनिक स्रोतको उपयोग र निजी प्रविधि कम्पनीको प्रभावबारे प्रश्न उठ्न थालेपछि मस्कका व्यावसायिक गतिविधिमाथि राजनीतिक निगरानी बढ्न सक्ने चर्चा छ ।
कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी गरिरहेका ठूला कम्पनीका तथ्याङ्क केन्द्र निर्माण पनि निर्वाचनको प्रमुख मुद्दा बनेको थियो । जर्जियासहित विभिन्न राज्यमा डेटा सेन्टरको तीव्र विस्तार नियन्त्रण गर्ने र प्रविधि कम्पनीलाई दिइँदै आएको कर छुट घटाउने प्रस्तावहरू चर्चामा आएका थिए । निर्वाचनका क्रममा केही राज्यमा डेटा सेन्टर विस्तार सीमित गर्ने दर्जनौँ प्रस्ताव पारित भएको विवरण सार्वजनिक भएको छ ।
यसले एआई पूर्वाधारमा ठूलो लगानी गरिरहेका कम्पनीका लागि नयाँ नीतिगत चुनौती थपिन सक्ने विश्लेषण गरिएको छ । ठूला प्रविधि कम्पनीमाथि नियमन बढाउने बहससँगै लगानीकर्तामा पनि अनिश्चितता देखिएको छ ।
डेमोक्र्याटिक सांसद एड मार्कीले ठूला प्रविधि कम्पनीका प्रमुखहरूको गतिविधिबारे छानबिन आवश्यक रहेको बताएका छन् । उनले यस्ता कम्पनीसँग सम्बन्धित विषयमा संसदीय समन जारी गर्नुपर्ने सङ्केत गरेका छन् ।
निर्वाचनपछि बुधबार बिहान अधिकांश प्रविधि कम्पनीका सेयरमा वृद्धि देखिए पनि टेस्लाको सेयर ४.९ प्रतिशत र स्पेसएक्सको ३.४ प्रतिशतले घटेको थियो । राजनीतिक परिणाम र सम्भावित सरकारी नियमनले कम्पनीहरूको व्यावसायिक वातावरणमा पार्न सक्ने प्रभावबारे लगानीकर्ताले चासो देखाएका छन् ।
यसबीच मस्कले राजनीतिक विषयमा सार्वजनिक टिप्पणी कम गर्दै आफ्नो कम्पनी एक्सएआईले विकास गरेको कृत्रिम बुद्धिमत्ता प्रणाली ‘ग्रोक’को प्रचारमा ध्यान दिएको देखिएको छ ।
लिङ्क्डइनका संस्थापक तथा डेमोक्र्याटिक पार्टीका प्रमुख दाता रिड हफम्यानले निर्वाचन परिणामलाई अपेक्षाभन्दा ठूलो सफलता भन्दै स्वागत गरेका छन् । उनले मस्कजस्ता अर्बपतिले राजनीतिक उम्मेदवार र अभियानमा ठूलो रकम खर्च गरिरहेको प्रसङ्ग उठाउँदै अमेरिकी लोकतान्त्रिक मूल्यमा विश्वास गर्नेहरू पछि हट्न नहुने बताएका छन् ।
अमेरिकी निर्वाचनमा अर्बपतिहरूको आर्थिक प्रभाव, निजी प्रविधि कम्पनीको राजनीतिक पहुँच र सरकारी नीतिमा उनीहरूको भूमिकाबारे बहस यस परिणामपछि थप चर्किएको छ ।
