उपभोक्ताले ग्यास पाएका छैनन् !
भक्तपुर । सरकारी कागजमा ग्यासको आपूर्ति सहज भइसकेको छ । तर भक्तपुरका उपभोक्ताको भान्सामा भने अझै अभावको आगो बलिरहेको छ ।
महिनौँदेखि एउटा भरिएको सिलिन्डर खोज्दै डिलर र पसल धाउनुपर्ने बाध्यता हटेको छैन ।
भक्तपुरकी सविना बोहजु तीन महिनादेखि ग्यासको प्रतीक्षामा छिन् । यसअघि आधा भरिएको सिलिन्डर पाए पनि त्यसयता अर्को सिलिन्डर जुटाउन नसकेको उनको गुनासो छ ।
‘डिलरदेखि खुद्रा पसलसम्म धाइसकेँ, कतै ग्यास पाइँदैन । फोन गर्दा ग्यास नै आएको छैन भन्छन्,’ उनले भनिन्, ‘बजारमा सहज भयो भनेर प्रचार गरिन्छ, तर हामी उपभोक्ताले चाहिँ कहाँबाट ग्यास पाउने ?’
अर्को कम्पनीको सिलिन्डर साटेर भए पनि ग्यास लिने प्रयास गर्दा थप शुल्क तिर्न तयार हुँदासमेत नपाएको उनले बताइन् ।
अर्का उपभोक्ता सुनील दुवालको गुनासो पनि उस्तै छ । ग्यास पसलमा नाम टिपाएको महिनौँ बितिसक्दा पनि सिलिन्डर हात नपरेको उनको भनाइ छ ।
‘जहिले सोधे पनि ग्यास आएपछि खबर गर्छु भन्छन् । महिनौँ बितिसक्यो, खबर पनि छैन, ग्यास पनि छैन,’ उनले भने, ‘हामीले पैसा तिरेर किन्ने हो, सित्तैमा मागेका होइनौँ । पैसा हुँदा पनि एउटा सिलिन्डर नपाउनु कस्तो विडम्बना हो ?’
ग्यास अभावले सर्वसाधारणको दैनिक भान्सा प्रभावित भइरहँदा जिल्ला प्रशासन कार्यालय भक्तपुर भने आपूर्ति सहज भएको दाबी गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार एउटा कम्पनीको ग्यास नपाए अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर पनि लिन सकिन्छ । दसैँअघि कुन कम्पनीको ग्यास कहाँ र कहिले वितरण हुँदैछ भन्ने सूचना सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने गरिएकोमा आपूर्ति सहज भएको ठानेपछि त्यसलाई निरन्तरता नदिइएको उनको भनाइ छ ।
तर प्रशासनको दाबीले उपभोक्ताको चुलो बल्दैन । बजारमा ग्यास सहज भएको हो भने महिनौँदेखि सिलिन्डरको प्रतीक्षामा रहेका नागरिकले किन पाएका छैनन् ?
प्रशासनले कागजी विवरण होइन, उपभोक्ताको भान्सासम्म ग्यास पुगेको प्रमाण देखाउनुपर्ने अवस्था छ ।
