तर्साएर होइन, जनताको मन जितेर शासन गर्नुस् : सहमहामन्त्री खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले जनतालाई त्रास र आतंक सिर्जना गरेर नभई जनताको मन जितेर शासन गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले दुईतिहाइ नजिकको बहुमत प्राप्त सरकारले राजनीतिक दललाई अन्योलमा पार्ने, कर्मचारीलाई तर्साउने, प्रहरीको मनोबल गिराउने र व्यापारीलाई कमजोर बनाउने काम गर्न नहुने बताएका हुन् ।
खतिवडाले विगतमा नेपाली कांग्रेस र नेकपाका सरकारहरूले पनि झन्डै दुईतिहाइ बहुमतसहित शासन गरेको स्मरण गर्दै त्यतिबेला कानुन र संविधानलाई सर्वोपरि मानिएको बताए ।
‘दुईतिहाइ नजिकको सरकारको काम जनतालाई त्रास पार्ने, आतंक सिर्जना गर्ने, राजनीतिक दललाई अन्योलमा पार्ने, कर्मचारीलाई तर्साउने, प्रहरीको मनोबल गिराउने र व्यापारीलाई कमजोर बनाउने होइन,’ उनले भने, ‘तर्साएर र थर्काएर होइन, जनताको मन जितेर शासन गर्नुहोस् ।’
सरकारलाई पाँच वर्ष निर्धक्क भएर काम गर्ने जनादेश प्राप्त भएको उल्लेख गर्दै खतिवडाले जनताका इच्छा, आकांक्षा र अपेक्षा पूरा गर्न सुझाव दिए ।
‘पाँच वर्ष शासन गर्ने अधिकार जनताले दिएका छन् । निर्धक्कताका साथ सरकार चलाउनुहोस्, जनताका अपेक्षा पूरा गर्नुहोस्,’ उनले भने ।
उनले सरकारलाई सबै क्षेत्रको मनोबल बढाउने, उत्साह जगाउने र कानुनी राज्यको अवधारणाअनुसार अघि बढ्ने काममा केन्द्रित हुन पनि आग्रह गरेका छन्।
