चर्चित फुटबल स्टार रोनाल्डोद्वारा सन्यासको घोषणा
काठमाडाैं। विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याउने निर्णय सुनाएका हुन्।
सन् २००३ को अगस्टमा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरमा अनेक कीर्तिमान बनाएका छन्। उनले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन्। पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल र सर्वाधिक गोलको विश्व कीर्तिमान उनकै नाममा छ।
रोनाल्डोले राष्ट्रिय टोलीको सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन्। ‘अब राष्ट्रिय टोलीको सात नम्बरको जर्सी फिर्ता गर्ने समय आएको छ। यो जर्सी कहिल्यै मेरो मात्र थिएन,’ उनले भनेका छन्।
उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलो पटक युरोकप जितेको थियो। त्यसैगरी २०१९ र २०२५ मा नेसन्स लिगको उपाधि पनि जितेको थियो। छवटा विश्वकपमा गोल गर्ने पहिलो पुरुष खेलाडीको कीर्तिमानसमेत रोनाल्डोकै नाममा छ। युरोकपमा सर्वाधिक १४ गोल गर्ने खेलाडी पनि उनी नै हुन्।
क्लब फुटबलमा पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोले रियल मड्रिडका लागि ४५० गोल गरेका छन्। च्याम्पियन्स लिगमा पनि उनी सर्वाधिक गोलकर्ता हुन्। राष्ट्रिय टोलीबाट बिदा लिए पनि उनले क्लब फुटबल भने जारी राख्नेछन्। उनी हाल साउदी क्लब अल नासरबाट खेलिरहेका छन्।
२३४ खेल, १४६ गोल र तीन प्रमुख उपाधि, पोर्चुगलको जर्सीमा रोनाल्डोले बनाएको यो इतिहाससँगै अन्तर्राष्ट्रिय फुटबलमा एउटा युगको अन्त्य हुँदैछ।
