`

म्हः पूजादेखि देउसीभैलोसम्मका मौलिक परम्पराले सामाजिक एकता बलियो बनाउँछन् – प्रधानमन्त्री शाह

Nepal One HD २५ कार्तिक २०८३ ९:१७
बिशेष

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७, म्हः पूजा तथा गोवर्धन पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

उनले यी मौलिक पर्वले नेपाली संस्कृति, पहिचान, सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्दै सबैको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गरेका छन्।

उनले लेखेका छन् –
नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको यस पवित्र अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना!
राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान हो।
आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म अति गहिरो छ; ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ। यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको छ, जुन हाम्रा लागि गौरवको विषय हो।
आजैका दिन भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँगै, कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइन्छ।
त्यसैगरी, हिजो भैलोका मीठा भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने गर्दछ। हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्।
सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *