`

२७ पटक कसरी सिर्जना भयो सुपरनोभाको भ्रम?

समीन बरुवाल २८ कार्तिक २०८३ १४:२२
फिचर

काठमाडौं । ब्रह्माण्डमा एउटा यस्तो तारा भेटिएको छ, जसले एक–दुईपटक होइन, २७ पटकभन्दा बढी सुपरनोभा विस्फोट भएजस्तै चमक देखाएर वैज्ञानिकलाई नै झुक्याएको छ। तर, यो तारा वास्तवमा विस्फोट भएर नष्ट भएको भने होइन। यसको बाहिरी तहबाट अर्को शक्तिशाली खगोलीय पिण्डले निरन्तर पदार्थ तानिरहेका कारण यस्तो असाधारण चमक देखिएको खुलासा भएको छ।

नासाको चन्द्र एक्स–रे वेधशालाबाट प्राप्त तथ्यांकको अध्ययनपछि वैज्ञानिकहरूले लामो समयदेखिको यो रहस्य पत्ता लगाएका हुन्। अनुसन्धानअनुसार उक्त ताराको नजिकै एउटा अदृश्य सघन पिण्ड छ, जसले ताराबाट पदार्थ खोसिरहेको छ। त्यो पिण्ड न्युट्रोन तारा वा तारकीय पिण्डबाट बनेको ब्ल्याक होल हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।

सामान्यतया कुनै विशाल ताराको केन्द्रमा आणविक इन्धन सकिएपछि त्यसलाई स्थिर राख्ने ऊर्जा उत्पादन बन्द हुन्छ। त्यसपछि तारा भीषण विस्फोटसहित नष्ट हुन्छ। यस्तो घटनालाई सुपरनोभा भनिन्छ। तर एटी २०१६ब्लु नाम दिइएको यो ताराले भने पटक–पटक सुपरनोभाको झल्को दिने चमक देखाउँदै आएको छ।

सन् २०१२ जनवरी ११ मा पहिलोपटक असाधारण रूपमा चम्किएपछि वैज्ञानिकहरूले उक्त तारा विस्फोट भएर समाप्त भएको ठानेका थिए। तर केही समयपछि चमक हरायो र तारा पुनः अस्तित्वमा रहेको देखियो। त्यसपछि हरेक ११३ दिनमा फेरि उस्तै चमक देखिन थाल्यो।

अमेरिकाको भर्जिनिया विश्वविद्यालयकी अनुसन्धानकर्ता मोज्गन अघाखानलुका अनुसार पछिल्लो १५ वर्षदेखि वैज्ञानिकहरूले उक्त ताराको चमक घट्ने र बढ्ने नियमित गतिविधि अध्ययन गर्दै आएका छन्। यसअघि पनि नक्कली सुपरनोभाका घटना देखिए पनि एउटै ताराले पटक–पटक विस्फोट भएजस्तो देखाउनुको कारण स्पष्ट हुन सकेको थिएन।

वैज्ञानिकहरूका अनुसार एटी २०१६ब्लु ‘लुमिनस ब्लु भेरिएबल’ अर्थात् एलबीभी वर्गमा पर्ने विशाल तारा हो। यस्ता तारा अत्यन्त तातो, चम्किला र अस्थिर हुन्छन्। तिनले समय–समयमा आफ्नो बाहिरी तहबाट ठूलो परिमाणमा पदार्थ अन्तरिक्षमा फाल्ने गर्छन्।

तर एटी २०१६ब्लुमा देखिएको नियमित चमक सामान्य तारकीय गतिविधिभन्दा फरक छ। यसको रहस्य पत्ता लगाउन चमक देखिएकै समयमा एक्स–रेमार्फत अध्ययन गर्नुपर्ने थियो।

सन् २०२६ मार्चमा उक्त तारामा पुनः असाधारण चमक देखिएपछि नासाको चन्द्र वेधशालाले त्यसको अवलोकन गरेको थियो। त्यसक्रममा अत्यन्त शक्तिशाली एक्स–रे उत्सर्जन भइरहेको फेला पर्‍यो। यही तथ्यले ताराको नजिकै अर्को सघन पिण्ड रहेको र त्यसले पदार्थ तानिरहेको हुन सक्ने वैज्ञानिक निष्कर्षलाई बलियो बनायो।

अनुसन्धानअनुसार एटी २०१६ब्लुको वरिपरि एउटा अदृश्य साथी पिण्ड छ। उक्त पिण्डले मुख्य तारालाई अण्डाकार कक्षमा प्रत्येक ११३ दिनमा एकपटक परिक्रमा गर्छ।

परिक्रमा गर्ने क्रममा जब त्यो पिण्ड ताराको सबैभन्दा नजिक पुग्छ, यसको शक्तिशाली गुरुत्वाकर्षणले मुख्य ताराको बाहिरी तहबाट पदार्थ तान्न थाल्छ।

ताराबाट खोसिएको पदार्थ सघन पिण्डको वरिपरि तीव्र गतिमा घुम्दै जम्मा हुन्छ। यसरी बनेको तातो घेरालाई वैज्ञानिक भाषामा ‘एक्रिसन डिस्क’ भनिन्छ। पदार्थ तीव्र गतिमा जम्मा हुने क्रममा अत्यधिक ऊर्जा र ताप उत्पन्न हुन्छ। यही प्रक्रियाबाट शक्तिशाली एक्स–रे उत्सर्जन हुन्छ।

त्यसपछि ती एक्स–रेले ताराले पहिले नै अन्तरिक्षमा फालेको ग्यास र पदार्थको बादललाई तताउँछन्। ग्यासको बादल असाधारण रूपमा चम्किन थाल्छ। पृथ्वीबाट हेर्दा यस्तो दृश्य सुपरनोभा विस्फोटजस्तै देखिन्छ।

अर्थात्, तारा पटक–पटक विस्फोट भइरहेको होइन, अर्को पिण्डले त्यसको पदार्थ तान्दा उत्पन्न ऊर्जाले विस्फोटको भ्रम सिर्जना गरिरहेको छ।

वैज्ञानिकहरूको गणनाअनुसार उक्त सघन पिण्डले मुख्य ताराबाट प्रत्येक वर्ष कम्तीमा ४४० अर्ब ट्रिलियन पाउन्ड पदार्थ तानिरहेको हुन सक्छ। यो परिमाण अनुमानभन्दा सय गुणासम्म बढी हुन सक्ने सम्भावनासमेत औँल्याइएको छ।

यति ठूलो परिमाणमा पदार्थ खोसिँदा पनि मुख्य तारा भने सूर्यभन्दा कम्तीमा ३३ गुणा विशाल छ। त्यसैले ताराको कुल पिण्डको तुलनामा खोसिएको पदार्थको मात्रा कम देखिन्छ।

तर पदार्थ ग्रहण गर्ने सघन पिण्डका लागि भने यो सामान्य अवस्था होइन। विशेषगरी न्युट्रोन ताराले सुरक्षित रूपमा ग्रहण गर्न सक्ने पदार्थको सैद्धान्तिक सीमाभन्दा यो प्रक्रिया निकै तीव्र हुन सक्छ। यस सीमालाई ‘एडिङ्टन लिमिट’ भनिन्छ।

यही असाधारण पदार्थ ग्रहण प्रक्रियाले सघन पिण्डमा अत्यधिक ऊर्जा उत्पादन गरिरहेको वैज्ञानिकहरूको विश्लेषण छ।

एटी २०१६ब्लुको गतिविधि अर्को दुर्लभ खगोलीय घटनासँग पनि जोडिएको छ। त्यो हो ‘अल्ट्रा लुमिनस एक्स–रे’ अर्थात् यूएलएक्स स्रोत।

यस्ता स्रोतबाट सामान्यभन्दा निकै शक्तिशाली एक्स–रे उत्सर्जन हुन्छ। ब्ल्याक होल वा न्युट्रोन ताराजस्ता सघन पिण्डले अत्यधिक पदार्थ ग्रहण गर्दा यस्तो ऊर्जा उत्पन्न हुन सक्ने मानिन्छ। 

एटी २०१६ब्लुमा देखिएको असाधारण एक्स–रे उत्सर्जनले नक्कली सुपरनोभा र यूएलएक्सबीचको सम्भावित सम्बन्ध बुझ्न वैज्ञानिकलाई नयाँ आधार दिएको छ।

(अन्तर्राष्ट्रिय खोज प्रतिवेदनको सहयोगमा तयार गरिएको)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *