बहराइनमा अमेरिकी राडार प्रणाली ध्वस्त पारेको इरानको दाबी
काठमाडाैं। इरानले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीमाथि आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले शुक्रबार उक्त आक्रमण गरेको जनाएको हो ।
इरानी सरकारी सञ्चारमाध्यममार्फत जारी विज्ञप्तिमा आइआरजीसीको एयरोस्पेस फोर्सले बहराइनस्थित अमेरिकी राडार प्रणालीलाई निशाना बनाएको उल्लेख छ । दक्षिणी इरानको सिरिक क्षेत्रमा रहेको दूरसञ्चार टावरमाथि शत्रुपक्षले गरेको हवाई आक्रमणको जवाफस्वरूप कारबाही गरिएको इरानको भनाइ छ ।
आइआरजीसीले हर्मुज जलघाँटीमा अमेरिकी हवाई गतिविधि र तेल तस्करी रोक्न उक्त आक्रमण गरिएको जनाएको छ । उसले अमेरिकी गतिविधिविरुद्ध चेतावनी दिँदै आवश्यक परे थप जवाफी कारबाही गर्ने संकेतसमेत गरेको छ ।
यद्यपि, इरानले राडार प्रणाली ध्वस्त पारेको दाबीको स्वतन्त्र पुष्टि भएको छैन । अमेरिका र बहराइनले पनि घटनाबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । बहराइनमा अमेरिकी जलसेनाको पाँचौँ फ्लीटको मुख्यालय रहेको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धले खाडी क्षेत्रलाई लामो समयदेखि तनावग्रस्त बनाएको छ । युद्धका क्रममा इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अखडा, विमानस्थल, बन्दरगाह र ऊर्जा केन्द्रहरूलाई निशाना बनाउँदै आएको छ ।
इरानले विश्वकै महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलघाँटी हुँदै हुने जलयातायातमा समेत प्रतिबन्ध लगाएको थियो । यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाउनुका साथै इरानमाथि आर्थिक दबाब बढाउँदै आएको छ ।
पछिल्लो राडार आक्रमणको दाबीले केही समयदेखि मत्थर हुँदै गएको अमेरिका-इरान तनाव फेरि चर्किन सक्ने देखिएको छ । बहराइनस्थित अमेरिकी सैन्य संरचनालाई लक्षित गरिएको यो घटनाले खाडी क्षेत्रमा थप सुरक्षा चुनौती निम्त्याउन सक्ने आशंका बढाएको छ ।
