`

तीन प्रदेशमा हिमपातको सम्भावना, सतर्क रहन आग्रह

Nepal One HD २९ कार्तिक २०८३ १२:२९
समाचार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा देशका केही हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मध्यम हिमपात हुन सक्ने विभागले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशका कुनै पनि स्थानमा वर्षा रेकर्ड नभएको विभागले जनाएको छ ।

हाल देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई, उपत्यका तथा खोँचहरूमा हुस्सु लागेको छ । आज दिउँसो हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराईका भूभागमा भने भोलि बिहान हुस्सु लाग्न सक्ने विभागले जनाएको छ ।

भोलिदेखि पश्चिम नेपालका हिमाली तथा पहाडी भूभागमा मौसम थप सक्रिय हुने पूर्वानुमान गरिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा मध्यम स्तरको वर्षा वा हिमपात हुन सक्ने विभागको अनुमान छ ।

त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा, हिमपात र असिनासमेत पर्न सक्ने सम्भावना छ ।

सम्भावित मौसम प्रतिकूलतालाई ध्यानमा राख्दै विभागले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना रहेकाले पहेँलो रङको सतर्कता जारी गरेको छ ।

आजका लागि भने देशभर कुनै चेतावनी जारी गरिएको छैन । अन्य भूभागलाई हरियो सतर्कता तहमा राखिएको विभागले जनाएको छ ।

यसैगरी, पर्सि कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

साथै, मौसममा छिटोछिटो परिवर्तन हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन र विभागको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत जारी हुने पछिल्लो मौसम पूर्वानुमान नियमित रूपमा हेर्न आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *