`

तीन महिनामा नेपाल टेलिकमको नाफा ३७.३५ प्रतिशतले बढ्यो

Nepal One HD २९ कार्तिक २०८३ १२:५३
अर्थ समाचार

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३५ प्रतिशत बढी हो ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको करअघिको मुनाफा ३.६५ प्रतिशतले बढेर २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो मुनाफा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ थियो ।

त्यस्तै, कम्पनीको कुल आय ०.०७ प्रतिशतले बढेर ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ थियो ।

तर, कम्पनीको कुल सञ्चालन आयमा भने सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ थियो ।

यसैगरी, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको सञ्चालन मुनाफा (इबिट्डा) ६.१३ प्रतिशतले घटेर ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो मुनाफा ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ थियो ।

कम्पनीका अनुसार भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोले दूरसञ्चार सेवा प्रभावित हुनु र प्रभावित सेवाग्राहीलाई १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउनुले सेवा बिक्रीबाट प्राप्त हुने राजस्वमा असर परेको छ । असोज २५ गतेको बूढीगण्डकी बाढीले समेत सेवामा नकारात्मक प्रभाव पारेको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम मूल्यका तथा ठूला मोबाइल डेटा प्याकेजको प्रयोग बढ्दा पनि कम्पनीको आम्दानी प्रभावित भएको छ । समीक्षा अवधिमा जीएसएम सेवातर्फ १० लाख १६ हजार रुपैयाँ र एफटीटीएच सेवातर्फ ४ करोड ४० लाख रुपैयाँ सञ्चालन राजस्व वृद्धि भएको कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षमा कर्मचारीको तलब वृद्धि हुँदा कर्मचारी खर्च बढेको छ । तर, ह्रास खर्चमा आएको कमी र मूल्यह्रास क्षति फिर्ता समायोजन (इम्पेयरमेन्ट रिभर्सल) का कारण कम्पनीको खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ ।

साथै, कम्पनीले विकट तथा दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारसँगै सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *