म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु
म्यानमारको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित भएका मानिसहरू बस्दै आएको शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
शनिबार प्रत्यक्षदर्शी र उद्धारकर्मीले दिएको जानकारीअनुसार राज्यको राजधानी सितवेबाट उत्तरपूर्वमा पर्ने पोन्नाग्युन टाउनसिपस्थित ‘ब्यार ला’ विस्थापित शिविरमा शुक्रबार साँझ आक्रमण भएको हो ।
आक्रमणमा पाँच वर्षीय बालकसहित १२ जनाको मृत्यु भएको ‘फ्युसिन यिन ख्विन फाउन्डेसन’का अध्यक्ष खाइन हेन हतेतले पुष्टि गरेका छन् । घाइते १८ जनाको उपचार भइरहेको छ ।
आक्रमणमा आफ्नी छोरी, काकी र आमालाई गुमाएकी २७ वर्षीया चित सु वाईले लडाकु विमान अचानक आएर बम खसालेको बताइन् । उनका अनुसार आक्रमणपछि घटनास्थलमा शव छरपस्ट अवस्थामा देखिएका थिए ।
उक्त शिविरमा विस्थापितहरू विगत चार वर्षदेखि बस्दै आएका थिए । सेनाको आक्रमणपछि शिविरका बाँसका घरहरू भत्किएका छन् भने घरायसी सामान र कपडाहरू छरपस्ट भएका छन् ।
सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि म्यानमारमा गृहयुद्ध चर्किएको हो । प्रजातन्त्र समर्थक र जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरू सेनाविरुद्ध लडिरहेका छन् ।
पश्चिमी तटीय राज्य राखाइनमा जातीय सशस्त्र समूह आराकान आर्मीको प्रभाव छ । यस क्षेत्रमा सेनाले नाकाबन्दी लगाउनुका साथै निरन्तर हवाई आक्रमण गर्दै आएको छ ।
द्वन्द्व अनुगमन गर्ने संस्था ‘एक्लेड’का अनुसार म्यानमारमा गृहयुद्ध सुरु भएयता विभिन्न पक्षका गरी एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
