`

भूपेन्द्रजंग शाही : विद्यार्थी राजनीतिदेखि कांग्रेस महामन्त्रीको दाबीसम्म

समिन बरुवाल ७ मंसिर २०८३ १८:०९
राजनीति

काठमाडौं । नेपाल विद्यार्थी संघको स्कुल इकाईबाट राजनीतिक यात्रा सुरु गरेका भूपेन्द्रजंग शाही नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्षासहित अघि बढेका छन्।

विद्यार्थी राजनीति, तरुण दलको नेतृत्व, संसदीय निर्वाचनको प्रतिस्पर्धा, संगठन निर्माण अभियान र युवा परिचालनका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका शाहीले नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको १५औँ नियमित महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

कालिकोटको स्थानीय राजनीतिबाट उदाएका शाहीको राजनीतिक यात्रा विद्यार्थी संगठनसँगै अघि बढेको हो। विद्यालय तहमा अध्ययन गर्दादेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध भएका उनी स्कुल समिति अध्यक्ष हुँदै जिल्ला नेतृत्वमा पुगे। विद्यार्थी राजनीतिमा सक्रिय रहँदै उनले कालिकोट जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले। कर्णाली क्षेत्रका विद्यार्थीका साझा समस्या र अधिकारका विषय उठाउन गठन भएको कर्णाली विद्यार्थी हित समितिको साझा अध्यक्षसमेत बने।

विद्यार्थी संगठनमा निरन्तर सक्रियताका कारण उनी नेविसंघको केन्द्रीय राजनीतिमा स्थापित भए। तीन पटक केन्द्रीय सदस्य बनेका शाही २०६४ सालमा केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा पुगे। जिल्ला तहबाट सुरु भएको संगठनात्मक यात्रा केन्द्रीय नेतृत्वसम्म विस्तार हुनु उनको राजनीतिक जीवनको महत्त्वपूर्ण चरण थियो। नेविसंघमा रहँदा उनले विद्यार्थीका शैक्षिक अधिकार, संगठन विस्तार र युवा नेतृत्व विकासका विषयमा काम गरेको बताउँदै आएका छन्।

विद्यार्थी राजनीतिबाट प्राप्त अनुभवलाई उनले युवा संगठनमा पनि उपयोग गरे। २०७३ सालमा नेपाल तरुण दलको केन्द्रीय महामन्त्री बनेपछि उनको राजनीतिक जिम्मेवारी थप फराकिलो भयो।

तरुण दलमार्फत युवालाई पार्टीको मूलधारको राजनीतिमा जोड्ने, संगठनलाई सक्रिय बनाउने र राष्ट्रिय मुद्दामा युवा पुस्ताको सहभागिता बढाउने विषयलाई उनले प्राथमिकतामा राखे। नेविसंघको केन्द्रीय उपाध्यक्ष र तरुण दलको केन्द्रीय महामन्त्रीको अनुभव अहिले कांग्रेस महामन्त्री पदमा उनको दाबीको आधार बनेको छ।

संगठनात्मक जिम्मेवारीसँगै शाहीले संसदीय राजनीतिमा पनि आफ्नो उपस्थिति खोजे। २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कालिकोटमा उम्मेदवार बने। त्यसपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनले सोही क्षेत्रबाट प्रतिस्पर्धा गरे। दुवै निर्वाचनमा सफलता हासिल गर्न नसके पनि संसदीय निर्वाचनको अनुभवले उनको राजनीतिक यात्रामा अर्को आयाम थप्यो।

२०७८ सालमा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उनले कर्णाली प्रदेश सभापति पदमा उम्मेदवारी दिए। प्रदेश तहको नेतृत्वका लागि गरेको प्रतिस्पर्धाले पार्टीभित्र उनको संगठनात्मक उपस्थिति र नेतृत्वको आकांक्षालाई थप प्रस्ट पारेको थियो। निर्वाचन र आन्तरिक प्रतिस्पर्धामा निरन्तर सहभागी हुँदै आएका शाहीले पार्टी संगठनलाई चलायमान बनाउने विषयलाई आफ्नो राजनीतिक प्राथमिकतामा राख्दै आएका छन्।

उनको राजनीतिक सक्रियताको अर्को पक्ष अभियान केन्द्रित गतिविधि हो। पद र औपचारिक जिम्मेवारीमा मात्र सीमित नभई देशका विभिन्न भूभागमा पुगेर संगठन निर्माण गर्ने प्रयास उनले गर्दै आएका छन्। २०८० जेठ ११ गते उनले मेचीदेखि महाकालीसम्म संगठन निर्माण अभियान सञ्चालन गरे। पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै संगठन विस्तार र कार्यकर्ता परिचालनलाई अभियानको मुख्य उद्देश्य बनाइएको थियो।

त्यसैगरी, २०८० चैत २ गतेदेखि उनले कर्णालीका विकट बस्तीमा संगठन सुदृढीकरण यात्रा अघि बढाए। यस यात्राले भौगोलिक विकटता, कमजोर पूर्वाधार र राजनीतिक पहुँचका दृष्टिले चुनौतीपूर्ण क्षेत्रसम्म पुगेर कार्यकर्तासँग संवाद गर्ने तथा संगठनलाई स्थानीय तहसम्म सक्रिय बनाउएको थियो।

२०८१ कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु भएको मेची–महाकाली युवा संकल्प यात्राको संयोजन पनि शाहीले गरेका थिए। मंसिर ४ गते महेन्द्रनगर पुगेर सम्पन्न भएको उक्त अभियान भ्रष्टाचार नियन्त्रण, सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी नियन्त्रण, उद्यमशीलता, नवप्रवर्तन तथा कृषिमा युवाको सहभागिता बढाउनेजस्ता विषयमा केन्द्रित थियो। सहकारी पीडितको बचत फिर्ता र ठगीमा संलग्नलाई कारबाही गर्नुपर्ने मागसमेत अभियानका एजेन्डामा समेटिएका थिए। यस अभियानमार्फत उनले पार्टीको आन्तरिक संगठनात्मक गतिविधिलाई राष्ट्रिय मुद्दासँग जोड्ने प्रयास गरेका थिए।

युवा सशक्तीकरणलाई प्राथमिकता दिँदै उनले २०८१ माघ ११ र १२ गते सुर्खेतमा कर्णाली युथ फेस्टिभल आयोजना गरे। युवाको क्षमता विकास, नेतृत्व निर्माण, सिर्जनशीलता र सम्भावनाका विषयलाई बहसमा ल्याउने उद्देश्यले गरिएको उक्त कार्यक्रमले कर्णालीका युवालाई साझा मञ्च प्रदान गर्ने प्रयास गरेको थियो।

राजनीतिसँगै शाही साहित्यिक तथा सामाजिक गतिविधिमा पनि सक्रिय छन्। उनी लेखकसमेत हुन्। ‘नेविसंघ, नेविसंघ, हाम्रो नेविसंघ’ लगायतका गीत रचना गरेका उनका ‘बन्दीगृह’ उपन्याससहित चारवटा पुस्तक प्रकाशित छन्। राजनीतिक गतिविधिसँगै लेखन र सिर्जनालाई अघि बढाउँदै आएका उनले साहित्यलाई पनि सामाजिक तथा राजनीतिक चेतना अभिव्यक्त गर्ने माध्यम बनाएका छन्।

अब शाहीको राजनीतिक यात्राको अर्को महत्त्वपूर्ण अध्याय कांग्रेसको १५औँ नियमित महाधिवेशन बनेको छ। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना गर्ने महाधिवेशनमा उनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

नेविसंघको केन्द्रीय उपाध्यक्ष, तरुण दलको महामन्त्री, दुई पटक संसदीय निर्वाचनका उम्मेदवार र १४औँ महाधिवेशनमा कर्णाली प्रदेश सभापतिका प्रत्यासी बनेको अनुभवसहित उनी केन्द्रीय पदाधिकारीको प्रतिस्पर्धामा उत्रिन लागेका हुन्।

महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै शाहीले कांग्रेसमा आमूल रूपान्तरण आवश्यक रहेको बताएका छन्। पार्टीभित्र गुटबन्दी, भागबन्डा, व्यक्तिगत स्वार्थ, पदीय स्वार्थ, अवसरवाद र चाकडीवादको अन्त्य हुनुपर्ने उनको धारणा छ।

कांग्रेस सत्ता केन्द्रित नभई जनताकेन्द्रित हुनुपर्ने, सबै कार्यकर्ताले न्याय र समान अवसर पाउनुपर्ने तथा संगठन विधि र प्रणालीअनुसार सञ्चालन हुनुपर्नेमा उनले जोड दिएका छन्। सूचना प्रविधिको विकास र बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीले आफूलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा अहिले पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने दाबीसम्म आइपुगेको छ। संगठन निर्माण, युवा परिचालन र विभिन्न अभियानमार्फत आफ्नो राजनीतिक उपस्थिति विस्तार गर्दै आएका शाहीका लागि यो महाधिवेशन नयाँ राजनीतिक परीक्षण हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *