राजनीतिलाई घृणा होइन, बदल्ने साहस गरौँ
मेरो दृढ विश्वास छ– राजनीति सबैभन्दा असल, महान् र पवित्र कर्ममध्ये एक हो । राजनीतिले एक व्यक्तिको मात्र होइन, सिंगो समाज, राष्ट्र र भावी पुस्ताको भविष्य निर्माण गर्ने सामथ्र्य राख्छ । यो पद, प्रतिष्ठा र शक्ति प्राप्त गर्ने माध्यम मात्रै होइन, मानवसेवा, सामाजिक न्याय र सामूहिक कल्याणको सबैभन्दा प्रभावकारी माध्यम पनि हो ।
हामी धर्मको कुरा गर्छाैं । पुण्यको कुरा गर्छाैं , परोपकार र मानवसेवाको कुरा गर्छाैं । मन्दिर जानु, पूजा गर्नु, दान गर्नु र तीर्थ गर्नु आस्थासँग सम्बन्धित अभ्यास हुन् । तर, एक जना भोको मानिसलाई भोजन जुटाइदिनु, अशिक्षित बालबालिकालाई शिक्षाको उज्यालो दिनु, उपचारबाट वञ्चित नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउनु, अन्यायमा परेकालाई न्याय दिलाउनु र अवसर नपाएकालाई अवसर सिर्जना गर्नु पनि त धर्म नै हो ।
मन्दिरमा भगवान खोज्नु धर्म हो भने जनताको सेवामा भगवानको स्वरूप देख्नु पनि धर्म हो । पूजा गरेर आशीर्वाद माग्नु आस्था हो भने, दुःखीको आँसु पुछेर उसको अनुहारमा मुस्कान फर्काउनु पनि पुण्य हो ।
यही मानवीय धर्मलाई बृहत् रूपमा व्यवहारमा उतार्ने सामथ्र्य राजनीतिमा छ । एक व्यक्तिले व्यक्तिगत रूपमा केही मानिसको जीवनमा परिवर्तन ल्याउन सक्छ तर असल राजनीतिक नेतृत्वले नीति, निर्णय र दूरदर्शी सोचमार्फत लाखौँ मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । त्यसैले जनताको जीवनमा आशा, समाजमा न्याय र राष्ट्रमा समृद्धि सिर्जना गर्ने राजनीति आफैँमा महान् सेवाकर्म हो ।
तर विडम्बना ! आज राजनीतिप्रति आम मानिसको धारणा नकारात्मक बन्दै गएको छ । राजनीति फोहोरी खेल हो, यहाँ इमानदार मानिस टिक्न सक्दैनन् र स्वार्थीहरूको मात्र वर्चस्व हुन्छ भन्ने भाष्य स्थापित हुँदै गएको छ । यसको दोष राजनीतिलाई हो कि राजनीतिलाई आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने मानिसहरूलाई ? केही मानिसले जनताको विश्वासलाई आफ्नो स्वार्थको भर्याङ बनाए । सेवाभन्दा सत्ता, सिद्धान्तभन्दा अवसर र सार्वजनिक हितभन्दा व्यक्तिगत लाभलाई प्राथमिकता दिए । उनीहरूको गलत नियत र आचरणले राजनीतिलाई बदनाम गरायो । तर केही पात्रको स्वार्थका कारण समग्र राजनीतिलाई नै खराब ठहर गर्नु कदापि न्यायसंगत हुँदैन । केही चिकित्सकको गल्तीले चिकित्सा पेसा खराब हुँदैन । केही शिक्षकको कमजोरीले शिक्षा अपवित्र हुँदैन भने केही राजनीतिज्ञको स्वार्थले राजनीति कसरी खराब हुन सक्छ ?
समस्या राजनीतिमा होइन, राजनीतिलाई स्वार्थको साधन बनाउने प्रवृत्तिमा छ । राजनीति आफैँमा खराब होइन, यसलाई सञ्चालन गर्ने मानिसको नियत र कर्मले यसको चरित्र निर्धारण गर्छ ।आज हाम्रो समाजको एउटा ठूलो विडम्बना यही हो कि असल, शिक्षित, इमानदार र विवेकशील मानिसहरू राजनीतिलाई फोहोरी क्षेत्र भन्दै टाढा बस्न चाहन्छन् तर त्यही रिक्ततामा गलत प्रवृत्ति भएका मानिसहरूले आफ्नो स्थान बनाइरहेका छन् । हामी खराब नेतृत्वको आलोचना गर्छौँ, इमानदार नेतृत्व खोज्छौँ र देश परिवर्तन भएको हेर्न चाहन्छौँ । तर, परिवर्तनको प्रक्रियामा सहभागी हुन भने हिचकिचाउँछौँ । केवल राजनीतिलाई गाली गरेर राजनीति सुध्रिँदैन । असल मानिसहरू राजनीतिमा प्रवेश नगरेसम्म, गलत प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिन नसकेसम्म र सार्वजनिक हितलाई सर्वोपरि राख्न नसकेसम्म अपेक्षित परिवर्तन सम्भव हुँदैन ।
त्यसैले शिक्षित युवाहरू, अनुभवी अभिभावकहरू, इमानदार शिक्षकहरू, कर्मशील व्यवसायीहरू, समाजसेवीहरू र विवेकशील नागरिकहरूलाई मेरो हार्दिक आग्रह छ– राजनीतिबाट पलायन होइन, राजनीतिमा सहभागिताको साहस गरौँ । गलत प्रवृत्तिसँग सम्झौता नगरौँ, आफ्नो इमान, विवेक र विचारबाट नयाँ राजनीतिक संस्कार स्थापित गरौँ ।राजनीतिमा आउनु भनेको आफ्नो व्यक्तिगत उन्नति मात्र खोज्नु होइन । अरूको जीवनमा पनि सम्भावना र आशा थप्नु हो । आफ्नो परिवारको भविष्य मात्र सुरक्षित गर्नु होइन, समग्र समाजका परिवारहरूको भविष्य उज्यालो बनाउने जिम्मेवारी लिनु हो ।
पद प्राप्त गर्नु ठूलो कुरा होइन, पदमा पुगेर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नु ठूलो कुरा हो । नेता कहलिनु ठूलो कुरा होइन, जनताको दुःखमा साथ दिने र उनीहरूको विश्वास जित्ने पात्र बन्न सक्नु ठूलो कुरा हो । राजनीति गर्ने प्रत्येक व्यक्तिले आफैँलाई एउटा प्रश्न गर्नुपर्छ– मेरो उपस्थितिले जनताको जीवनमा के परिवर्तन ल्यायो ? मेरो निर्णयले समाजलाई के योगदान दियो ? मेरो नेतृत्वले कसको भविष्य उज्यालो बनायो ? यी प्रश्नको सकारात्मक उत्तर दिन सक्ने राजनीति नै वास्तवमा सेवाको राजनीति हो ।
मेरो बुझाइमा धर्म मन्दिरमा मात्रै खोजिने कुरा होइन, जनताको सेवामा पनि भेटिन्छ । पुण्य पनि दानमा मात्रै होइन, कसैको जीवनमा उज्यालो भर्नुमा पनि हुन्छ । अनि राजनीति सत्ता मात्रै होइन, मानवीय मूल्यहरूलाई व्यवहारमा उतार्ने सबैभन्दा ठूलो अवसर हो । त्यसैले राजनीतिलाई घृणा गरेर टाढा बस्ने होइन । यसको गरिमा फर्काउने जिम्मेवारी लिऔँ । स्वार्थको माध्यम होइन, सेवाको साधना बनाऔँ । पद र शक्तिको प्रतिस्पर्धा होइन, मानवकल्याणको साझा अभियान बनाऔँ ।
राजनीति फोहोरी छ भनेर पन्छिने होइन । आफ्नो इमानदारीले यसलाई पवित्र बनाउने संकल्प गरौँ । असल मानिसहरू राजनीतिबाट टाढा रहेर होइन, राजनीतिमा अग्रसर भएर परिवर्तनको नेतृत्व गरौँ । किनकि हामीले चाहेको समाज, हामीले देखेको समृद्ध राष्ट्र र भावी पुस्ताले गर्व गर्न सक्ने भविष्य आफैँ बन्दैन । त्यसका लागि असल सोच, असल नेतृत्व र असल राजनीतिक संस्कार आवश्यक छ । राजनीतिमा लाग्ने मानिसको सबैभन्दा ठूलो उपलब्धि पद, प्रतिष्ठा र सम्पत्ति होइन, आफूले गरेको सेवाप्रति जनताको विश्वास, सम्मान र आशीर्वाद होस् ।
आउनुहोस्, राजनीति बदलौँ, समाज बदलौँ र मानवसेवालाई राजनीतिको मूल धर्म बनाऔँ ।
राजनीति स्वार्थ होइन, सेवा बनोस् । सत्ता होइन, साधना बनोस् । व्यक्तिगत सफलता होइन, सामूहिक समृद्धिको अभियान बनोस् ।
