पर्यटनको नयाँ क्षितिज फालेलुङ
नेपालको सुदूरपूर्वी पहाडी भूभागमध्ये पाँचथरको फालेलुङ गाउँपालिका पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
समुद्री सतहबाट ३ हजार ३०० देखि ३ हजार ६०० मिटरको उचाइमा अवस्थित चारराते, तीन सिमाना, फालोट र सन्दकपुर क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । पश्चिम बंगाल, भुटान, सिक्किम, दार्जिलिङ, पञ्जाब र कोलकतालगायतका क्षेत्रबाट बाह्य पर्यटकहरू यहाँ आउने गरेका छन् । त्यसैगरी, काठमाडौं, झापा, छिमेकी जिल्ला इलाम, तेह्रथुम, ताप्लेजुङलगायत नेपालका विभिन्न क्षेत्रबाट पनि उल्लेख्य संख्यामा आन्तरिक पर्यटकको आगमन भइरहेको छ ।
प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली दृश्य, लोपोन्मुख वन्यजन्तु रेडपान्डाको अवलोकन, मौलिक संस्कृति र ऐतिहासिक पहिचानले फालेलुङलाई सुन्दर पर्यटकीय संगमस्थलका रूपमा स्थापित गराएको छ । विशेषगरी यस वर्ष आन्तरिक तथा बाह्य पर्यटकको आगमन अपेक्षाभन्दा धेरै भएको छ । यसले फालेलुङको पर्यटन सम्भावनालाई नयाँ र विकसित ढंगले बुझ्नुपर्ने आवश्यकता सिर्जना गरेको छ । यस वर्षको पर्यटक आगमन पर्यटकको भीडभाड मात्र होइन, सिंगो फालेलुङको आर्थिक विकासका लागि उज्ज्वल सम्भावनाको संकेत र आर्थिक समृद्धिको बलियो सन्देश पनि हो ।
फालेलुङमा पर्यटकलाई आकर्षित गर्ने प्रशस्त सम्भावना छन् । यहाँका प्राकृतिक सम्पदा र पर्यटनको योजनाबद्ध विकासलाई उद्यमशीलता तथा व्यावसायिक पर्यटनसँग जोड्नु अबको आवश्यकता हो । यसपटक विशेषगरी आन्तरिक पर्यटकको उल्लेख्य उपस्थितिले फालेलुङको बजार माग र सम्भावना दुवैलाई एकैपटक उजागर गरेको छ । यो सिंगो फालेलुङको पर्यटन व्यवसायका लागि खुसी, हर्ष र गौरवको विषय हो ।
फालेलुङको सबैभन्दा ठूलो सम्पत्ति यहाँको प्रकृति हो । फालोट, तीन सिमाना, चारराते, तोरिफुले, भैँसे, सन्दकपुर तथा आसपासका उच्च पहाडी क्षेत्रबाट देखिने हिमालका मनमोहक दृश्य यहाँका प्रमुख आकर्षण हुन् । सगरमाथा, कञ्चनजंघा, फक्ताङलुङ र मकालुलगायतका हिमशृंखलाको अवलोकनसँगै लालीगुराँसका वन, तालतलैया, लामपोखरी, गुण्टे पोखरी, सुकेपोखरी र हरियाली क्षेत्रले फालेलुङको पर्यटकीय महत्व बढाएका छन् ।
यी प्राकृतिक सम्पदालाई थप व्यवस्थित गर्दै पर्यटकीय सञ्जालमा जोड्न सके सुन्दर फालेलुङलाई पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।
फालेलुङ आउने पर्यटकलाई प्राकृतिक सौन्दर्यको अवलोकनमा मात्र सीमित राख्नु हुँदैन । यहाँका रैथाने लिम्बू, राई तथा अन्य समुदायको मौलिक भाषा, मुन्धुम, संस्कार, संस्कृति, परम्परा, खानपान, भेषभूषा र नाचगानलाई पनि पर्यटकीय अनुभवसँग जोड्न आवश्यक छ । स्थानीय समुदायको मौलिक पहिचान र प्रकृतिसँग जोडिएका विश्वास तथा मान्यताको सम्मान गर्दै तिनलाई पर्यटनसँग जोड्न सके फालेलुङले अन्य पर्यटकीय गन्तव्यभन्दा पृथक पहिचान बनाउन सक्छ । यसबाट यहाँको पर्यटन व्यवसायलाई थप विस्तार र विकास गर्न सकिन्छ ।
पर्यटन विकासका सम्भावना र भावी कार्यदिशा
यसपटक फालेलुङमा देखिएको पर्यटकको उल्लेखनीय उपस्थितिले अबको मुख्य प्रश्न उब्जाएको छ– यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कसरी भव्य र व्यवस्थित रूपमा स्वागत गर्ने र स्थानीय पर्यटन व्यवसायलाई कसरी अर्थतन्त्रसँग जोड्ने? यसका लागि गुणस्तरीय होटल, रिसोर्ट, होमस्टे, क्याम्पिङलगायतका पर्यटकीय पूर्वाधार विकास गर्न आवश्यक छ । साथै, करेसाबारी र खेतदेखि भान्सासम्मको अनुभव अर्थात् ‘फार्म टु टेबल एक्सपेरियन्स’ पर्यटकलाई उपलब्ध गराउन सकिन्छ । पर्यटकको बसाइलाई सुत्ने, बस्ने र रमाइलो गर्ने माध्यमका रूपमा मात्र नलिई स्थानीय जीवनशैली, कृषि उत्पादन र खानपानसँग जोड्नुपर्छ । फार्म टुरिजम अर्थात् कृषि पर्यटनमा पर्यटकलाई सहभागी गराएर नयाँ आकर्षण सिर्जना गर्न सकिन्छ ।
आजको परिवर्तनशील युगका पर्यटक घुमफिर गर्न, सुन्दर दृश्य हेर्न र रमाइलो गर्न मात्र चाहँदैनन् । उनीहरू नयाँ अनुभव, साहसिक गतिविधि र फरक जीवनशैलीको खोजीमा पनि हुन्छन् । यसलाई मध्यनजर गर्दै फालेलुङलाई वर्षका चारवटै मौसममा पर्यटक भित्र्याउन सक्ने सुन्दर गन्तव्यका रूपमा विकास गर्नु आजको मुख्य आवश्यकता हो । यसका लागि माउन्टेन ट्रेकिङ, हाइकिङ, साइकलिङ, बर्ड वाचिङ, वन्यजन्तु अवलोकन, प्राकृतिक अध्ययन र फोटोग्राफीजस्ता गतिविधिलाई प्रवद्र्धन गर्न सकिन्छ । त्यस्तै, सूर्योदय र सूर्यास्तको अवलोकन, हिउँदमा हिमपात र हिमाली दृश्य, वसन्त ऋतुमा २८ प्रजातिका लालीगुराँस तथा अन्य फूलको अवलोकन, वर्षायाममा पोखरी, तालतलैया, झरना र हरियालीको अनुभव तथा शरद ऋतुमा खुलेका करिब ६० वटा हिमशृंखलाको दृश्यावलोकनलाई छुट्टाछुट्टै पर्यटकीय प्याकेजका रूपमा विकास गर्न सकिन्छ । यसरी मौसमअनुसारका फरकफरक पर्यटकीय गतिविधि र प्याकेज सञ्चालन गर्न सके फालेलुङलाई बाह्रै महिना पर्यटकको रोजाइमा पर्ने गन्तव्य बनाउन सकिन्छ ।
यसपटक फालेलुङमा देखिएको पर्यटकको आगमनलाई सामान्य मौसमी फेरबदलका कारण देखिएको भीडभाडका रूपमा मात्र लिनु हुँदैन । यसलाई सिंगो फालेलुङको पर्यटन बजार विस्तार हुँदै गएको र यहाँको प्राकृतिक, सांस्कृतिक तथा ग्रामीण सम्पदाप्रति मानिसहरूको आकर्षण बढिरहेको सकारात्मक संकेतका रूपमा बुझ्नुपर्छ । स्थानीय जीवनशैलीलाई पर्यटन व्यवसायसँग जोडेर सिंगो फालेलुङलाई आर्थिक समृद्धिको बलियो आधार बनाउन सकिन्छ । यसका लागि स्थानीय सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र स्थानीय समुदायबीच सहकार्य आवश्यक छ ।
अब फालेलुङले पर्यटकको प्रतीक्षा गर्ने मात्र होइन, उनीहरूलाई व्यवस्थित रूपमा स्वागत गर्न सक्ने आधुनिक, प्रगतिशील र व्यावसायिक पर्यटन संरचना निर्माण गर्नुपर्छ । प्राकृतिक सम्पदाको संरक्षण, स्थानीय संस्कृति र पहिचानको प्रवद्र्धन, गुणस्तरीय पर्यटकीय सेवा तथा स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्छ । फालेलुङलाई स्थानीय अर्थतन्त्रको बलियो आधार र समृद्ध पर्यटकीय केन्द्रका रूपमा विकास गर्दै पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्न सक्ने गन्तव्यका रूपमा रूपान्तरण गर्नु आजको आवश्यकता हो ।
