बालेन सरकारकाे देखियाे अध्यादेश माेह
काठमाडाैं । बालेन सरकारले अध्यादेशबाटै शासन चलाउने प्रयास गरेकाे छ । संसद् बैठक नबाेलाएर सरकारले अध्यादेशकाे ओइराे लगाएकाे हाे ।
हालसम्म तीनवटा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ । जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने सम्बन्धी अध्यादेश, प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छन् ।
राष्ट्रपति कार्यालयले ती अध्यादेश अध्ययनको क्रममा रहेको जनाएकाे छ ।
संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य समयमा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछन् ।
अध्यादेश जारी भएपछि बसेको संघीय संसद्को दुवै सदनमा पेस गर्नुपर्छ ।
दुवै सदनले स्वीकृत नगरेमा वा अध्यादेश प्रतिस्थापन विधेयक आएर ऐनमा रूपान्तरित नभए सदनमा पेस भएको ६० दिनभित्र स्वत: निष्क्रिय हुनेछ । साथै, राष्ट्रपतिले चाहेमा जुनसुकै समयमा पनि अध्यादेश खारेज गर्न सक्छन् ।
सरकारले अध्यादेशमा के कस्ता विषय समावेश गरिएको छ भनेर कुनै जानकारी दिएको छैन । साथै, अध्यादेश ल्याउनुपर्ने कारण पनि स्पष्ट खुलाएको छैन ।
