हसिनाको हुंकार- १६ डिसेम्बरमा स्वदेश फर्किन्छु
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी १६ डिसेम्बरमा भारतबाट आफ्नो देश फर्किने घोषणा गरेकी छन् । उनले बंगलादेशको राष्ट्रिय विजय दिवसकै दिन स्वदेश फर्कने तयारी गरेकी हुन् ।
समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार मंगलबार आफ्नो स्वदेश फिर्तीको मिति सार्वजनिक गर्दै हसिनाले वर्तमान प्रधानमन्त्री तारिक रहमानसँग राष्ट्रिय ध्वजावाहक विमानमार्फत आफ्नो यात्राको व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।
बंगलादेशमा हरेक वर्ष १६ डिसेम्बरलाई विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो ।
हसिनाका प्रवक्ता सैयद मोजामेल अलीले विज्ञप्ति जारी गर्दै सन् २०२४ अगस्ट ५ मा बंगलादेशकै विमानमार्फत उनलाई भारत ल्याइएको स्मरण गराएका छन् । अब दिल्लीबाट ढाका फर्कने हवाई यात्राको व्यवस्था पनि बंगलादेश सरकारले मिलाउनुपर्ने उनको भनाइ छ ।
हसिनाका सहयोगी अबु ओबैदा अरिनले स्वदेश फर्कनका लागि १६ डिसेम्बरको दिन रोज्नु अर्थपूर्ण रहेको बताएका छन् । हसिना फर्किएपछि उनको नेतृत्वमा बंगलादेश पुनः शान्ति, स्थिरता र प्रगतिको बाटोमा अघि बढ्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।
हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन चर्किएपछि सत्ता त्यागेर भारत पुगेकी थिइन् । उनको १५ वर्ष लामो शासनविरुद्ध भएको आन्दोलनका क्रममा सयौँ प्रदर्शनकारीको मृत्यु भएको थियो । बढ्दो जनआक्रोशपछि उनी देश छाड्न बाध्य भएकी थिइन् ।
यसैबीच, मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै बंगलादेशको अदालतले हसिनालाई उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ । तर, उनले अदालतको फैसला अस्वीकार गर्दै आएकी छन् ।
बंगलादेश फर्किएपछि आफूविरुद्धको मुद्दामा आफ्नो पक्ष प्रस्तुत गर्ने हसिनाले बताउँदै आएकी छन् । उनको स्वदेश फिर्तीको घोषणाले बंगलादेशको राजनीतिक वृत्तमा नयाँ चर्चा र चासो सिर्जना गरेको छ ।
