१२ दिनपछि एनभिडिया फर्किए जेन्सेन हुआङ
काठमाडौं। अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङ पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीमा फर्किएका छन् ।
चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक महिलासँग सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि विवादमा तानिएका हुआङलाई कम्पनीको सञ्चालक समितिले पुनः नेतृत्वमा ल्याउने निर्णय गरेको विवरणमा उल्लेख छ ।
कम्पनीको आधिकारिक विज्ञप्तिअनुसार सञ्चालक समितिले हुआङसँग विभिन्न चरणमा छलफल गरेपछि उनको नेतृत्व क्षमता र प्रस्तुत स्पष्टीकरणप्रति सन्तुष्टि जनाएको थियो । त्यसपछि सर्वसम्मत रूपमा उनलाई पुनर्बहाली गर्ने निर्णय गरिएको जनाइएको छ ।
कम्पनीले अमेरिकी सरकारका उच्च अधिकारीहरूसँग समेत परामर्श गरेको र हुआङको पुनरागमनबाट राष्ट्रिय सुरक्षामा कुनै जोखिम नहुने निष्कर्ष निकालेको दाबी गरेको छ ।
हुआङमाथि चीनका लागि जासुसी गरेको आरोप लागेकी महिलासँग व्यक्तिगत सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि विवाद सुरु भएको थियो । त्यस्तै, कम्पनीकै अर्की उच्च अधिकारीसँगको सम्बन्धलाई लिएर पनि उनी चर्चामा आएका थिए । यद्यपि, ती महिलामाथि लागेको जासुसीको आरोप पुष्टि भइसकेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हुआङको पुनर्बहालीलाई सही निर्णय भन्दै स्वागत गरेको विवरणमा उल्लेख छ । उनको पुनरागमनले राष्ट्रिय सुरक्षामा कुनै खतरा नहुने सरकारको बुझाइ रहेको ट्रम्पले बताएका छन् ।
पुनर्बहालीको खबर सार्वजनिक भएपछि एनभिडियाको सेयर बजारमा समेत सकारात्मक प्रभाव परेको रोयटर्सले जनाएको छ । बजार खुल्नुअघिको कारोबारमा कम्पनीको सेयर मूल्य ३१ प्रतिशतभन्दा बढीले बढेको उल्लेख गरिएको छ ।
सन् १९९३ मा एनभिडिया स्थापना गरेका हुआङले कम्पनीलाई कृत्रिम बौद्धिकता (एआई) प्रविधिका लागि आवश्यक चिप उत्पादन गर्ने विश्वकै प्रमुख कम्पनीमध्ये एक बनाएका छन् ।
उनको नेतृत्वमा एनभिडियाले विश्वव्यापी प्रविधि बजारमा बलियो स्थान बनाएको छ।
