लिपुलेक विवाद : हिजोको गर्जन, आजको मौनता
काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, लिपुलेक विवाद र विगतका अभिव्यक्तिबीच देखिएको विरोधाभासले नेपालको राष्ट्रियता, कूटनीतिक पहल र राजनीतिक जवाफदेहिताबारे गम्भीर प्रश्न उठाएको छ।
प्रधानमन्त्री बनेपछि बालेन्द्र शाह पहिलोपटक दुईदिने राजकीय भ्रमणका लागि नोभेम्बर २२ र २३ मा भारत जानुभयो। भ्रमणका क्रममा विभिन्न द्विपक्षीय विषयमा छलफल भए, समझदारी तथा सम्झौताहरू भए र उहाँ स्वदेश फर्किनुभयो। तर लामो समयदेखि नेपालको राष्ट्रिय सरोकारको विषयका रूपमा उठ्दै आएको सीमा विवाद, विशेषगरी लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा भने कुनै सार्वजनिक धारणा वा ठोस कूटनीतिक पहल देखिएन। यतिसम्म कि उक्त विषय भ्रमणको औपचारिक एजेन्डामा समेत समावेश भएको देखिएन।
भारतका विदेश सचिवले पत्रकार सम्मेलनमार्फत लिपुलेकको विषयमा छलफल नभएको र यो भ्रमणको एजेन्डामा नरहेको स्पष्ट पारेपछि यस विषयले थप राजनीतिक र कूटनीतिक बहस सिर्जना गरेको छ। यहाँनेर प्रधानमन्त्रीको विगतको अभिव्यक्ति र वर्तमान व्यवहारबीच तुलना गर्नु सान्दर्भिक हुन्छ।
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यालयमा ‘ग्रेटर नेपाल’को नक्सा राख्नुभएको थियो। त्यतिमात्र होइन, २०२५ अगस्ट ३ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै लिपुलेकको विषय चीनसमक्ष उठाउन आग्रह गर्नुभएको थियो।
उहाँको अभिव्यक्तिको आशय थियो- भारत र चीनको सहमतिमा नेपालको लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने विषय नेपालको सार्वभौमिकतामाथिको अतिक्रमण हो। लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन तत्कालीन प्रधानमन्त्री ओलीलाई उहाँले आग्रह गर्नुभएको थियो। त्यसबेला उहाँले ओलीमाथि व्यङ्ग्य गर्दै आफूलाई उहाँमाथि पूर्ण विश्वास रहेकोसमेत उल्लेख गर्नुभएको थियो।
चुनावी अभियानका क्रममा पनि सीमा विवाद र राष्ट्रिय स्वाधीनताको विषय उहाँका राजनीतिक अभिव्यक्तिमा प्राथमिकताका साथ उठ्ने गरेका थिए।
तर विडम्बना! आज उहाँ आफैँ प्रधानमन्त्रीका रूपमा दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा जानुभयो। हिजो अरूलाई सम्झाउन आग्रह गर्नुभएको लिपुलेकको विषय आज आफैँले उठाउनुभएन। भारतसँगको उच्चस्तरीय द्विपक्षीय भेटवार्तामा नेपालको सीमा विवादको विषय उठाउने अवसर हुँदाहुँदै पनि त्यो प्राथमिकतामा परेन।
यहाँ एउटा गम्भीर राजनीतिक प्रश्न जन्मिन्छ- हिजो सत्ताबाहिर हुँदा यति चर्को रूपमा उठाइएको राष्ट्रियताको मुद्दा आज सत्तामा पुगेपछि किन ओझेलमा पर्यो?
के त्यो केवल राजनीतिक लोकप्रियता हासिल गर्ने माध्यम थियो? के सत्तामा नहुँदासम्मको राष्ट्रवाद र सत्तामा पुगेपछिको राष्ट्रवाद फरक हुन्छ? के अरूलाई प्रश्न गर्न सजिलो तर आफैँ जिम्मेवारीमा पुगेपछि त्यही प्रश्नको सामना गर्न कठिन भएको हो?
लिपुलेक केवल भारत र चीनबीचको एउटा नाका वा व्यापारिक मार्ग मात्र होइन। यो नेपाल, भारत र चीनसँग जोडिएको रणनीतिक महत्त्वको त्रिदेशीय क्षेत्र हो। नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिएको विषय हो।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको छ। भारत र चीनबीच लिपुलेकलाई व्यापारिक तथा आवागमन मार्गका रूपमा प्रयोग गर्ने सहमतिले नेपालको उक्त दाबी र सार्वभौमिकतासम्बन्धी चासोलाई थप संवेदनशील बनाएको छ।
हामी सबैलाई थाहा छ, यो विवाद समाधान गर्नु सहज छैन। भारत र चीनसँगको जटिल भू-राजनीतिक सम्बन्धबीच नेपालले एक्लै तत्काल भूगोलको वास्तविकता परिवर्तन गर्न सक्दैन। तर त्यसको अर्थ नेपाल आफ्नो राष्ट्रिय दाबी प्रस्तुत गर्न, कूटनीतिक पहल गर्न र अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पक्ष राख्न असमर्थ छ भन्ने होइन।
नेपालले गर्न सक्ने काम भनेको निरन्तर कूटनीतिक पहल गर्ने, आफ्नो दाबी स्पष्ट रूपमा राख्ने, वार्ता र संवाद अघि बढाउने तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो पक्ष बलियोसँग प्रस्तुत गर्ने हो। विवाद तत्काल समाधान नहुन सक्छ, तर राष्ट्रिय अडान राख्न र त्यसका लागि पहल गर्न त सकिन्छ नि!
त्यसैले यहाँ प्रश्न केवल लिपुलेकको विषय उठ्यो कि उठेन भन्ने मात्र होइन। कसले यो विषय उठायो? कसले कूटनीतिक पहल गर्यो? कसले आफ्नो कार्यकालमा के प्रयास गर्यो? राष्ट्रिय सरोकारका विषयमा नेताहरूको बोली र व्यवहार कति समान छन्? यी प्रश्नहरू महत्त्वपूर्ण छन्।
हिजो सरकारमा नहुँदा, मेयर हुँदा यो विषयमा चर्का अभिव्यक्ति दिएको हामीले देखेकै हौँ। पूर्वपत्रकारहरूले पनि टेलिभिजनका स्टुडियोबाट बसेर ठूलाठूला कुरा गरेको सुनेकै हौँ। त्यतिबेला बाघजस्तै गर्जिने आवाजहरू आज जिम्मेवारीमा पुग्दा किन मौन भएका छन्? हिजो अरूलाई प्रश्न गर्नेहरूले आज आफैँ जनताको प्रश्नको सामना गर्नुपर्ने अवस्था आएको छ।
कम्तीमा पनि लिपुलेक नेपालको सार्वभौमिकता र राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषय हो भन्ने कुरा भारतसमक्ष स्पष्ट रूपमा राख्न त सकिन्थ्यो नि! भ्रमणका क्रममा उक्त विषयमा छलफल नभएको भए पनि त्यसबारे सरकारको स्पष्ट धारणा र आगामी कूटनीतिक रणनीति सार्वजनिक गर्न सकिन्थ्यो।
जनताले बालेन्द्र शाहमाथि ठूलो विश्वास गरेका छन्। परिवर्तन, सुशासन र राष्ट्रिय स्वाभिमानको अपेक्षासहित जनताले उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्। त्यसैले उहाँको हिजोको अभिव्यक्ति र आजको व्यवहारबीच तुलना हुनु स्वाभाविक हो। जनताले आफ्नो नेतृत्वसँग प्रश्न गर्ने अधिकार राख्छन् र नेतृत्वले त्यसको जवाफदेहिता वहन गर्नुपर्छ।
अबको पाँचवर्षे कार्यकालमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको सीमा विवादलाई कसरी अघि बढाउनुहुन्छ? लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा ठोस कूटनीतिक पहल गर्नुहुन्छ कि यो मुद्दा पनि विगतका नेताहरूको जस्तै चुनावी भाषण र राजनीतिक नारामै सीमित हुन्छ? यी प्रश्नको जवाफ आगामी दिनमा उहाँको व्यवहार र कूटनीतिक सक्रियताले दिनेछ।
समस्या लिपुलेक भोलि नै फिर्ता आउँछ कि आउँदैन भन्नेमा मात्रै होइन। वास्तविक समस्या राजनीतिक दोहोरो चरित्र, अवसरवाद र बोली तथा व्यवहारबीचको विरोधाभासमा छ। राष्ट्रियताको मुद्दा विपक्षमा हुँदा मात्रै सम्झिने र सत्तामा पुगेपछि बिर्सिने विषय होइन।
राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डता चुनावी नारा, राजनीतिक लोकप्रियता हासिल गर्ने माध्यम वा सत्ता प्राप्तिको हतियार बन्नु हुँदैन। यो सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा, समान रूपमा कायम रहनुपर्ने राष्ट्रिय अडान हो।
राष्ट्रवादको वास्तविक परीक्षा सत्ताबाहिर हुँदा होइन, सत्तामा हुँदा हुन्छ। जनताले अब भाषण होइन, व्यवहार खोजिरहेका छन्।
