‘पुष्पा २’लाई उछिन्दै ‘रामायण’को विश्वव्यापी कमाइ १ हजार ७ सय करोड पार
काठमाडौं । रणवीर कपूर अभिनीत फिल्म ‘रामायण : पार्ट १’ले बक्स अफिसमा कीर्तिमानमाथि कीर्तिमान थपिरहेको छ । प्रदर्शनको १९औँ दिनसम्म आइपुग्दा फिल्मको विश्वव्यापी कमाइ १ हजार ७ सय करोड रुपैयाँ नाघेको छ ।
यससँगै फिल्मले अल्लु अर्जुनको चर्चित चलचित्र ‘पुष्पा : द रुल’को कुल कमाइलाई समेत पछाडि पारेको छ । ‘पुष्पा २’ले विश्वभरबाट १ हजार ६२२ करोड रुपैयाँ कमाएको थियो । तर ‘रामायण’ले प्रदर्शनको तीन साताभित्रै उक्त आँकडा पार गरेको हो ।
सप्ताहन्तमा उत्साहजनक व्यापार गरेको फिल्मको कमाइ सोमबार भने केही खस्किएको छ । आइतबारको तुलनामा सोमबारको आम्दानी घटे पनि समग्र व्यापारमा यसको प्रभाव परेको देखिएको छैन ।
ट्रेड ट्र्याकर स्याकनिल्कका अनुसार प्रदर्शनको १८औँ दिन आइतबार ‘रामायण’ले भारतीय बजारमा ३५ करोड ६० लाख रुपैयाँ नेट कमाइ गरेको थियो । सोमबार भने यसको कमाइ घटेर १२ करोड ७० लाख रुपैयाँमा झरेको छ ।
सोमबारको कारोबारसमेत जोड्दा भारतमा फिल्मको कुल नेट कलेक्सन ९५५ करोड ४५ लाख रुपैयाँ पुगेको छ । अब हजार करोडको आँकडा छुन यसलाई थप ४४ करोड ५५ लाख रुपैयाँ आवश्यक छ ।
त्यस्तै, भारतीय बजारमा फिल्मको कुल ग्रस कलेक्सन १ हजार १४१ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
‘रामायण : पार्ट १’को अन्तर्राष्ट्रिय बजारमा पनि बलियो उपस्थिति देखिएको छ । प्रदर्शनको १९औँ दिनसम्म फिल्मले विश्वभरबाट १ हजार ७०४ करोड ६५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
भारतबाहिरका बजारबाट मात्रै फिल्मले ५६३ करोड रुपैयाँ जुटाएको बताइएको छ । यही कमाइसँगै यसले ‘पुष्पा : द रुल’को विश्वव्यापी व्यापारलाई उछिनेको हो ।
यसैबीच धनुष अभिनीत फिल्म ‘ओम : अपरेसन मोल’ले पनि भारतीय बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । प्रदर्शनको चौथो दिन सोमबार फिल्मले ६ करोड २० लाख रुपैयाँ नेट कमाइ गरेको छ ।
यससँगै फिल्मको भारतमा कुल नेट कलेक्सन ५५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । पहिलो सप्ताहन्तमा मात्रै यसले ३१ करोड ६५ लाख रुपैयाँ कमाएको थियो । यो धनुषको अभिनय करियरकै सबैभन्दा धेरै कमाइ गर्ने पहिलो सप्ताहन्त बनेको छ ।
अर्कोतर्फ हलिउड चलचित्र ‘गोडजिला माइनस जिरो’ले भने भारतीय बजारमा अपेक्षाअनुसार व्यापार गर्न सकेको छैन । प्रदर्शनको चौथो दिन सोमबार फिल्मले जम्मा ४० लाख रुपैयाँ नेट कमाइ गरेको छ ।
यससँगै भारतमा यसको कुल नेट कलेक्सन ३ करोड ३५ लाख रुपैयाँ पुगेको छ । फिल्मको कुल ग्रस कमाइ भने ४ करोड २ लाख रुपैयाँ रहेको छ ।
बक्स अफिसको पछिल्लो आँकडाले ‘रामायण’को दबदबा कायमै रहेको देखाउँछ । ‘ओम’ले पनि दर्शकको साथ पाइरहेको छ भने ‘गोडजिला माइनस जिरो’ले भारतीय बजारमा अपेक्षित गति लिन सकेको छैन ।
