`

धनकुटाको निगाले सिमेन्ट उद्योग बन्द, १५० भन्दा बढी मजदुर बेरोजगार

Nepal One HD ८ मंसिर २०८३ १८:३८
अर्थ समाचार

धनकुटा ।आर्थिक सङ्कट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि पुनः सञ्चालनमा आउन सकेको छैन । उद्योग बन्द हुँदा १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् भने कोशी प्रदेशका पहाडी जिल्लाको सिमेन्ट आपूर्तिमा समेत असर परेको छ ।

छथर जोरपाटी गाउँपालिका–६, सिधुवाँमा सञ्चालित उद्योगको दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता थियो । आर्थिक मन्दी, बजारमा सिमेन्टको माग घट्नु र कच्चा पदार्थको मूल्य बढ्दै जानुका कारण उत्पादन क्षमता घटेर दैनिक तीन हजार बोरामा सीमित भएको थियो । निरन्तर घाटा हुन थालेपछि उद्योग बन्द गर्नुपरेको सञ्चालक दिनेश पौडेलको भनाइ छ । तत्काल उद्योग सञ्चालन गर्ने कुनै तयारी नरहेको र पुनः सञ्चालनको सम्भावना पनि नरहेको उनको भनाइ छ ।

सानो उद्योग भएकाले ठूला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताउँदै पौडेलले बताए । उद्योग स्थापना भएदेखि नै भौगोलिक अवस्थिति र चिसो मौसमका कारण उत्पादन क्षमताअनुसार सञ्चालन हुन नसकेको सञ्चालकको भनाइ छ । दैनिक ३०० टन उत्पादन क्षमता भए पनि वास्तविक उत्पादन दैनिक १५० टनमा सीमित हुने गरेको थियो ।

भारतबाट आयात गर्नुपर्ने कोइला, बक्साइट, लेटराइट र जिप्समलगायत कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि उत्पादन लागतसमेत वृद्धि भएको उद्योगले जनाएको छ । एकातिर उत्पादन खर्च बढ्दै जानु र अर्कोतर्फ सिमेन्ट बिक्रीमा कमी आउनुले उद्योग निरन्तर घाटामा गएको पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *