`

बनेपामा बेहोस बनाएर लुट्ने आरोपमा चार पक्राउ

Nepal One HD ९ मंसिर २०८३ १६:२०
अपराध

काठमाडाैं । काभ्रेपलाञ्चोकको बनेपा तथा आसपासका क्षेत्रमा खानेकुरामा नसालु पदार्थ मिसाएर सर्वसाधारणलाई बेहोस बनाई गरगहना, नगद र मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सङ्गीता तामाङ (कार्की), बिर्खबहादुर तामाङ, नवराज घिमिरे बिक र प्रविन सुनुवार छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार उनीहरू विभिन्न मितिमा भएका श्रृंखलाबद्ध लुटपाटका घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । सङ्गीतालाई कात्तिक १५ गते बनेपाको चारदोबाटोबाट पक्राउ गरिएको थियो ।

प्रहरी अनुसन्धानअनुसार उनीहरूले खानेकुरा वा पेय पदार्थमा नसालु पदार्थ मिसाएर खुवाउने र पीडित बेहोस भएपछि गरगहना तथा नगद लुट्ने गरेका थिए । लुटिएका सुनका गहना विभिन्न सुनचाँदी पसलमा बिक्री गर्ने र स्वरूप परिवर्तन गरी कारोबार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

भदौ २४ गते गङ्गा गुरुङलाई नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर आठ हजार रुपैयाँ र चार वटा राडी लुटिएको थियो । बेहोस भएकी उनलाई चार दिन आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो ।

जेठ १० गते हिरामाया जिम्बा र उनका श्रीमान् हस्तबहादुरलाई दूधमा नसालु पदार्थ मिसाएर खुवाई दुई वटा सुनका रिङ र एक थान तिलहरी लुटिएको थियो । त्यसैगरी हेमबहादुर बस्नेतको सुनको सिक्री, औँठी, बाला र मोबाइल तथा पञ्चमाया तामाङको कानको रिङ लुटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गङ्गा र हिरामायाको गरगहना भक्तपुरस्थित जय शिवशक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे बिकलाई बिना रसिद बिक्री गरिएको थियो । पञ्चमायाको सुन प्रविन सुनुवारले धुलिखेलको गणेश सुनचाँदी पसलमा बिक्री गरेको खुलेको छ ।

सङ्गीता र बिर्खबहादुर काठमाडौंको तिनचुलीमा भएको यस्तै चोरीको घटनामा समेत संलग्न रहेको प्रहरीको दाबी छ । पक्राउ परेका चारै जनालाई अनुसन्धानपछि अभियोजनका लागि सरकारी वकिल कार्यालयमा पेस गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *