दलितमाथिको विभेदविरुद्ध संघर्ष गर्ने मुक्ति समाजको घोषणा, २१ बुँदे प्रस्ताव पारित
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मङ्सिर ८ र ९ गते बसेको बैठकले वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सरकारका नीति तथा कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।
बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनका बेला सार्वजनिक गरेको १०० बुँदे वाचापत्रमा दलित समुदायसँग औपचारिक क्षमायाचना गर्ने र विशेष सुधारका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए पनि सत्तामा पुगेपछि त्यसलाई कार्यान्वयन नगरेको आरोप लगाएको छ।
त्यस्तै, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले दलित समुदायको परम्परागत पेसा, कला र सीपको आधुनिकीकरणका लागि ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत विनियोजन गरेको ५० करोड रुपैयाँमध्ये करिब साढे ३ करोड मात्रै खर्च भएको भन्दै बैठकले असन्तुष्टि जनाएको छ। बाँकी साढे ४६ करोडभन्दा बढी रकम फ्रिज भएको भन्दै उक्त बजेट थप गरी कार्यक्रम तत्काल सञ्चालन गर्न माग गरेको छ।
सुनचाँदीको आयातमा बढाइएको शतप्रतिशत भन्सार तथा पेसा प्रवर्द्धन शुल्कसमेत तत्काल फिर्ता लिन बैठकले माग गरेको छ।
मुक्ति समाजले जातीय विभेद र हिंसाका घटनामा संलग्नलाई कडा कारबाही गर्न पनि माग गरेको छ। सिन्धुलीका श्रीकृष्ण विश्वकर्माको प्रहरी हिरासतमा भएको रहस्यमय मृत्यु र राज्यको उत्पीडन सहन नसकी गणेश नेपालीले आत्मदाह गर्नुपरेको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उसको माग छ।
काठमाडौं उपत्यकाका खोला किनारमा बसोबास गर्दै आएका ३ हजारभन्दा बढी विपन्न र ५०० भन्दा बढी दलित परिवारलाई वैकल्पिक व्यवस्था नगरी डोजर लगाएर विस्थापित गरिएको भन्दै बैठकले त्यसको विरोध गरेको छ। विस्थापित परिवारका लागि तत्काल सुरक्षित आवासको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ।
यसैगरी, भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव पारित भएको छ। ‘सरकार, कोठा खाली छ ?’ भन्दै २२७ दिनदेखि माइतीघर मण्डलामा सत्याग्रह गरिरहेकी अभियन्ता दीपा नेपालीको आन्दोलनप्रति पनि बैठकले ऐक्यबद्धता जनाएको छ।
बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका समझदारी, सहमति र द्विपक्षीय सम्झौताहरूको पूर्ण विवरण तत्काल संसद् र नेपाली जनतासमक्ष सार्वजनिक गर्न माग गरेको छ। जलवायु परिवर्तनका कारण रसुवा–भोटेकोशी तथा बूढीगण्डकी जलाधार क्षेत्रमा बाढीपहिरोबाट घरबारविहीन भएका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
संविधानको धारा २४ र ४० ले सुनिश्चित गरेका दलित समुदायका मौलिक हक कार्यान्वयनका लागि एकीकृत कानुन निर्माण गर्न, भूमिहीन दलितलाई जग्गाधनी पुर्जा वितरण गर्न तथा लघुवित्त, मिटरब्याज र सहकारीपीडितको बचत रकम फिर्ता गराउन बैठकले माग गरेको छ।
आगामी २०८४ सालमा हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा आरक्षित सिटमा मात्र सीमित नभई अन्य निर्वाचन क्षेत्रमा समेत योग्य र लोकप्रिय दलित व्यक्तिलाई उम्मेदवार बनाउन मुक्ति समाजले एमालेसँग आग्रह गरेको छ।
पार्टी महासचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकाल, जनसङ्गठन समन्वय संयन्त्र प्रमुख विशाल भट्टराई र सङ्गठनका इन्चार्ज जितु गौतमको मार्गदर्शनमा सम्पन्न बैठकले आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न देशभर जनपुनर्जागरण अभियान सञ्चालन गर्ने सङ्कल्पसमेत गरेको छ।
