`

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

Nepal One HD ९ मंसिर २०८३ १७:५९
बिशेष

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागअनुसार तत्काल अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो ।

कार्कीले आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले पूर्ववत् प्रहरी महानिरीक्षकको जिम्मेवारीमा पुनर्बहाली गर्नुपर्ने र नयाँ नियुक्त भएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा काम गर्न रोक लगाउनुपर्ने मागसमेत गरेका थिए ।

यसअघि ८ मंसिरमा सुनुवाइका लागि पेसी तोकिए पनि अदालतले आवश्यक प्रक्रिया पूरा नभएको भन्दै सुनुवाइ अघि बढाएको थिएन । प्रहरी प्रधान कार्यालयमार्फत नयाँ आईजीपी केसीलाई म्याद बुझाउन र अर्को सुनुवाइमा मन्त्रिपरिषद्को निर्णयसहितका सक्कल कागजात पेस गर्न अदालतले आदेश दिएको थियो । साथै, सरकारको निर्णयबारे आधिकारिक धारणा राख्न महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई पनि उपस्थित हुन भनिएको थियो ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै रिक्त भएको आईजीपी पदमा प्रहरी अतिरिक्त महानिरीक्षक मनोजकुमार केसीलाई नियुक्त गरिएको थियो । केसीले सोही दिन दर्ज्यानी चिह्न ग्रहण गरी प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए ।

सरकारले भने कार्कीमाथि कुनै कारबाही नगरिएको र उनको जिम्मेवारी मात्र परिवर्तन गरिएको दाबी गर्दै आएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा आवश्यक सुझाव र परामर्श दिन आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई जिम्मेवारी दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *