`

गुटबन्दीमा शीर्ष नेता, संगठनविहीन बन्दै राप्रपा

Nepal One HD ९ मंसिर २०८३ १७:५३
बिशेष

काठमाडौं । महाधिवेशन नजिक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा संकट निम्तिएको छ । शीर्ष नेताहरू एक अर्कालाई नङ्ग्याउँदै तल्लोस्तरको गालीगलौजमा सम्पूर्ण समय र ऊर्जा खर्चिरहेका छन् । जिल्ला जिल्ला पुगेर कार्यकर्तासामु नेताहरु एक अर्काको भेद खोल्दैछन् । संस्थागत हितभन्दा गुटबन्दीमा खुलेर लागेका छन् ।

‘राप्रपाको इतिहासमा यस्तो अस्वस्थ प्रतिस्पर्धा कहिल्यै देखिएको थिएन । पार्टी र संगठनलाई कसरी मजबुत बनाउने होइन, म ठीक, मेरो गुट ठीक, अर्कोतर्फका नेता सबै गलत, फटाहा र भ्रष्ट हुन् भन्दै खुलेआम क्याम्पेनिङ भइरहेको छ,’ सिन्धुपाल्चोकका पूर्व जिल्ला सदस्य तीर्थ तामाङले भने ।

‘फलाना नेताले पार्टी सिध्यायो, फलाना नेताले राप्रपाको नीति बेच्यो भन्ने खालका भाषण र सामाजिक सञ्जालमा टिप्पणीहरू दैनिक सुन्न र पढ्न पाइन्छ । नेताहरु एक अर्कालाई खुइल्याउनमा व्यस्त छन् । त्यसैले राप्रपा महाधिवेशनपछि एक ढिक्का रहन्न भन्ने अवस्थाबाट कार्यकर्ता सबै चिन्तित छन् र महाधिवेशनपछि कुन पार्टीमा ओत लाग्ने भनेर लेखाजोखा गर्दैछन् । तर, गुटबन्दीमा व्यस्त रहेका पार्टी अध्यक्ष, पूर्वअध्यक्ष, उपाध्यक्ष, सांसद लगायत युवा नेताहरु कसैलाई पार्टी र कार्यकर्ताको फिटिक्कै चिन्ता छैन,’ तामाङले भने ।

पार्टी अध्यक्ष स्वयमले पार्टीका वरिष्ठ उपाध्यक्षले मन्त्री हुँदा भ्रष्टाचार गरे भनेर आरोप लगाउँदा राप्रपा अनैतिकहरुको अखडा भन्ने देखिएको छ । त्यति मात्र होइन, राप्रपाकै इतिहासमा नदेखिएको कुरा, नेताहरु एक आपसमा मुद्दा हालाहाल गर्दै झगडिएका रुपमा पटक–पटक अदालत पुगेका छन् ।

पूर्वअध्यक्ष कमल थापाले राप्रपाले आगामी महाधिवेशनमा उम्मेदवार नपाउने स्थिति छ भनेको कुरा पार्टीको आन्तरिक आँकडाबाटै पुष्टि भएको छ । राप्रपाका एक पदाधिकारीका अनुसार, देशका ७५३ पालिकामध्ये ३६५ पालिकाहरुबाट राप्रपाले आधिकारिक महाधिवेशन प्रतिनिधि नपाउने भएको छ । कुल ४८.४७ प्रतिशत पालिकाले सक्रिय सदस्यको मापदण्ड पूरा गर्न नसकेका कारण ती पालिकाहरु महाधिवेशनको प्रक्रियाबाट बाहिरिएका छन् ।

राप्रपाको आन्तरिक व्यवस्था अनुरुप पालिकाको कुल मतदाता संख्याको ०.५ प्रतिशत सक्रिय सदस्य बनाउने पालिकाले मात्र महाधिवेशनमा सहभागी हुन पाउँछ ।

गाउँपालिकामा ०.५ प्रतिशत सक्रिय सदस्य संख्या औसत रुपमा १२ देखि २५ जना हुन्छ । जबकि ५ वडा भएको गाउँपालिकामा २७ जना र ७ वडा भएको गाउँपालिकामा ३७ जना त उम्मेदवार नै चाहिन्छ ।

पालिका र वडाहरुमा निर्वाचन आयोगले तय गरेको उम्मेदवार संख्या भन्दा कम संख्यामा सक्रिय सदस्यसमेत बनाउन नसक्ने राप्रपाको आगामी स्थानीय चुनावमा के हबिगत हुन्छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । यसबाट राप्रपा धराशयी भयो, उम्मेदवार नपाउने अवस्थामा पुग्यो भन्ने प्रमाणित भएको छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा राप्रपाको ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको स्मरणीय छ ।

सक्रिय सदस्यको ०.५ प्रतिशत मापदण्ड पूरा नगर्ने पालिकाहरु झापामा २, भोजपुरमा ९, पाँचथरमा ४, मोरङमा ८, इलाममा ७, ओखलढुङ्गामा ५, ताप्लेजुङमा ६, धनकुटामा ४, खोटाङमा ६, संखुवासभामा ५, सुनसरीमा ६, सोलुखुम्बुमा ४, तेह्रथुममा २, उदयपुरमा ३, धनुषामा १०, सप्तरीमा ९, बारामा ८, पर्सामा ८, रौटहटमा ८, सर्लाहीमा ८, सिराहामा ८, महोत्तरीमा ७, चितवनमा ४, धादिङमा ३, दोलखामा २, काठमाडौँमा २, काभ्रेपलाञ्चोकमा ६, ललितपुरमा १, मकवानपुरमा ५, नुवाकोटमा ५ र रसुवामा ३ पालिका छन् ।

त्यसैगरी रामेछापमा ३ पालिका, सिन्धुलीमा ५, गोरखामा ५, बागलुङमा ३, लमजुङमा ३, म्याग्दीमा २, मनाङमा १, नवलपुरमा ३, पर्वतमा ४, स्याङ्जामा ८, तनहुँमा ६, बाँकेमा ४, बर्दियामा ६, दाङमा ४, रुकुम पूर्वमा १, गुल्मीमा ९, कपिलवस्तुमा ६, पाल्पामा ६, प्युठानमा ११, नवलपरासी पश्चिममा १, रोल्पामा ६, रुपन्देहीमा ६, अर्घाखाँचीमा ३, दैलेखमा ४, डोल्पामा ६, हुम्लामा ३, जाजरकोटमा ५, जुम्लामा ३, कालिकोटमा ४, मुगुमा ४, सल्यानमा ३, सुर्खेतमा ५, रुकुम पश्चिममा ३, अछाममा ३, बैतडीमा ५, बझाङमा १३, बाजुरामा ५, डडेलधुरामा ३, दार्चुलामा ७, डोटीमा ४, कैलालीमा ५ र कञ्चनपुरमा ३ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *