मनाङमा मर्स्याङ्दीको धार परिवर्तन, अस्थायी पुल बनाएर आवागमन सञ्चालन
काठमाडाैं । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका-४ र ५ जोड्ने मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुल बाढीले बगाएर ल्याएको गेग्रान, ढुङ्गा, गिट्टी र बालुवाका कारण अवरुद्ध भएको छ। नदीको बहाव परिवर्तन भएर पुलमाथिबाटै पानी बग्न थालेपछि पुरानै धारमा फर्काउने प्रयास गरिए पनि अपेक्षित सफलता प्राप्त हुन सकेको छैन।
लमजुङ हिमालको फेदीबाट आएको घट्टेखोलाको बाढीले ठूलो परिमाणमा लेदो, ढुङ्गा र गेग्रान बगाएर मर्स्याङ्दी नदीमा थुपारेपछि नदीको बहाव प्रभावित भएको हो। यसका कारण पुल डुबानमा पर्नुका साथै चामे बजार र माथिल्लो मनाङबीचको सडक सम्पर्कसमेत अवरुद्ध भएको थियो।
नदीलाई साविककै धारमा फर्काउन प्राविधिक अध्ययन र व्यवस्थापनको योजना अघि बढाइएको प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले बताएका थिए। पर्यटकीय क्षेत्र भएकाले स्थानीयवासी तथा पर्यटकको आवागमन सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन योजना अघि बढाउनुपर्ने उनको भनाइ थियो।
यसअघि चामे गाउँपालिकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ४० लाख रुपैयाँ र स्थानीय तहबाट १० लाख रुपैयाँ गरी कुल ५० लाख रुपैयाँको लागतमा नदी व्यवस्थापन गर्ने योजना सार्वजनिक गरेको थियो। नदीमा थुप्रिएको गिट्टी, बालुवा तथा ढुङ्गा ठेक्कामार्फत व्यवस्थापन गरी त्यसबाट प्राप्त रकम नदीको बहाव सहज बनाउन उपयोग गर्ने योजना गाउँपालिकाको थियो।
तर, नदीको बहाव पुरानै धारमा फर्काउने प्रयास जटिल बनेपछि तत्कालीन समस्याको समाधानका लागि वैकल्पिक व्यवस्था अपनाइएको छ। चामे गाउँपालिकाको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ३५ मिटर लामो काठको अस्थायी पुल निर्माण गरिएको थियो।
असोज ९ र १० गतेको बाढीले अवरुद्ध बनाएको माथिल्लो मनाङतर्फको सडक अस्थायी पुल निर्माणपछि करिब तीन सातापछि पुनः सञ्चालनमा आएको थियो। पुरानो पक्की पुलको माथिल्लो बिममा काठ राखेर बनाइएको संरचनाबाट सवारीसाधनसमेत आवतजावत गर्न थालेका थिए।
यस घटनाले चामे बजारको यातायात, स्थानीय जनजीवन र अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको आवागमनमा ठूलो प्रभाव पारेको थियो। नदीको बहाव व्यवस्थापन, पुलको संरक्षण र जोखिममा रहेका बस्तीको सुरक्षाका लागि दीर्घकालीन समाधान आवश्यक देखिएको छ।
