चार वर्षदेखि निर्माणाधीन सूर्यविनायक-धुलिखेल सडक (तस्वीरहरू)
१५.९ किलोमिटर लामो सडकलाई सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको हो। सूर्यविनायक–साँगा ७.५ किलोमिटर सडक विस्तारका लागि करिब ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किलोमिटर सडकका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
आयोजनाको प्रगति भने खण्डअनुसार फरक छ। सूर्यविनायक–साँगा सडकको करिब ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ भने साँगा–धुलिखेल खण्डमा करिब ७७ प्रतिशत काम सकिएको छ।
सम्झौताअनुसार आयोजनाको काम यस वर्ष चैत मसान्तसम्म पूरा गर्नुपर्नेछ। बनेपा बजार क्षेत्रमा सडकको मापदण्डसम्बन्धी विवादका कारण निर्माण प्रभावित भएको थियो। गत कात्तिकमा विवाद समाधान भएपछि अहिले निर्माण कार्य अघि बढाइएको छ।
तर, निर्माण जारी रहेकै कारण सडकका विभिन्न स्थानमा धुलो र जामले यात्रु तथा चालकको यात्रा कष्टकर बनाएको छ। वर्षौँदेखि विस्तारको प्रतीक्षामा रहेको सडक चैत मसान्तसम्म पूरा हुन्छ कि फेरि म्याद थपिन्छ भन्ने चासो बढेको छ।














