`

चीन : सीक्सजीदेखि अन्तरिक्ष इन्टरनेटसम्म

चिना श्रेष्ठ १२ मंसिर २०८३ १२:०५
अर्थ समाचार

काठमाडौं । मोबाइलमा इन्टरनेट चलाउने प्रतिस्पर्धा अब अन्तरिक्षसम्म पुगेको छ। फाइभजीपछि सीक्सजी, जमिनको नेटवर्कपछि स्याटेलाइट इन्टरनेट र परम्परागत सञ्चार प्रणालीपछि कृत्रिम बुद्धिमत्तासँग जोडिएको डिजिटल पूर्वाधार निर्माणमा चीन आक्रामक रूपमा अघि बढेको छ। सन् २०३० भित्र सञ्चार प्रविधिमा विश्वलाई उछिन्ने लक्ष्यसहित बेइजिङले नयाँ कार्ययोजना सार्वजनिक गरेको हो।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय, साइबरस्पेस प्रशासन र राष्ट्रिय विकास तथा सुधार आयोगले नोभेम्बर २६ मा सार्वजनिक गरेको योजनाले आगामी चार वर्षभित्र सञ्चार प्रणालीलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ। फाइभजी–एड्भान्स्ड, दश गिगाबिट क्षमताको अप्टिकल नेटवर्क, न्यून पृथ्वी कक्षमा आधारित स्याटेलाइट इन्टरनेट र सीक्सजी अनुसन्धानलाई प्राथमिकतामा राखिएको छ।

चीनको यो योजना मोबाइलमा छिटो इन्टरनेट चलाउने विषयमा मात्र सीमित छैन। मानिस, मेसिन, उद्योग, सवारीसाधन र अन्तरिक्षमा रहेका स्याटेलाइटलाई एउटै डिजिटल सञ्जालमा जोड्ने उसको रणनीति छ। यसले उत्पादन, यातायात, स्वास्थ्य, शिक्षा र सरकारी सेवासम्मको काम गर्ने शैली बदल्न सक्ने अपेक्षा गरिएको छ।

फाइभजीपछि आउने सीक्सजीलाई मोबाइल सञ्चारको छैटौँ पुस्ताका रूपमा हेरिएको छ। तर यो अहिलेको इन्टरनेटभन्दा छिटो चल्ने प्रविधि मात्र होइन। कृत्रिम बुद्धिमत्ता, सेन्सर, कम्प्युटिङ र वास्तविक समयको सूचना विश्लेषणलाई सञ्चार प्रणालीमै जोड्ने यसको अवधारणा छ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सीक्सजीलाई ‘आईएमटी–२०३०’ नाम दिएको छ। यस प्रविधिबाट एकैपटक ठूलो संख्यामा उपकरण जोड्न, अत्यन्त कम विलम्बमा सूचना आदानप्रदान गर्न र सञ्चार सञ्जालमार्फत वरपरको वातावरणसमेत पहिचान गर्न सकिने अपेक्षा छ। कारखानाका रोबोटदेखि स्वचालित सवारीसाधन र ड्रोनसम्म यसको प्रयोग विस्तार हुन सक्छ।

तर सन् २०३० सम्म सीक्सजी विश्वभर व्यावसायिक रूपमा सञ्चालनमा आइसक्ने निश्चित छैन। यसको अन्तर्राष्ट्रिय मापदण्ड निर्माण प्रक्रिया जारी छ। सन् २०२७ देखि २०२९ सम्म सम्भावित प्रविधिका प्रस्ताव मूल्यांकन गर्ने र त्यसपछि मापदण्डलाई अन्तिम रूप दिने कार्यतालिका छ। चीनले भने अनुसन्धान र परीक्षणलाई तीव्र बनाइसकेको छ। सन् २०२६ को मे महिनामा सीक्सजी परीक्षणका लागि ६ गिगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गर्ने अनुमति दिइएको थियो।

चीनको अर्को महत्त्वाकांक्षी योजना आकाशबाटै इन्टरनेट पुर्‍याउने हो। अहिले इन्टरनेट सेवा मुख्यतः जमिनमा रहेका टावर र फाइबर केबलमा निर्भर छ। हिमाली क्षेत्र, मरुभूमि, समुद्र र दुर्गम बस्तीमा यस्तो पूर्वाधार विस्तार गर्न खर्चिलो हुन्छ। त्यसको विकल्पमा न्यून पृथ्वी कक्षमा घुम्ने स्याटेलाइटमार्फत इन्टरनेट सेवा विस्तार गर्ने तयारी चीनले गरेको छ।

‘गुओवाङ’ र ‘छ्यानफान’ नामका स्याटेलाइट समूह निर्माण गरेर विश्वव्यापी इन्टरनेट सेवा विस्तार गर्ने चीनको योजना छ। यो प्रयास अमेरिकी कम्पनी स्पेसएक्सको ‘स्टारलिंक’सँगको प्रतिस्पर्धासँग पनि जोडिएको छ। सन् २०३० सम्ममा स्याटेलाइट इन्टरनेट प्रणाली लगभग पूरा गर्ने लक्ष्य राखिएको छ। मोबाइल फोनलाई सिधै स्याटेलाइटसँग जोड्ने प्रविधि विस्तार गर्ने योजना पनि छ।

उद्योग क्षेत्रमा ६० हजार उद्यमको नेटवर्क पूर्वाधार स्तरोन्नति गर्ने, २० प्रमुख औद्योगिक क्षेत्रमा उच्च गुणस्तरका तथ्यांक समूह विकास गर्ने र १०० भन्दा बढी औद्योगिक इन्टरनेट प्लेटफर्म विस्तार गर्ने लक्ष्य छ। कारखानाका मेसिनले आफैँ सूचना संकलन गर्ने, उत्पादनको अवस्था विश्लेषण गर्ने र कामको गति समायोजन गर्न सक्ने प्रणाली विकास गरिनेछ। यसबाट उत्पादन लागत घटाउने र कार्यक्षमता बढाउने चीनको अपेक्षा छ।

यातायातमा सवारीसाधन, सडक र ट्राफिक बत्तीबीच सूचना आदानप्रदान गराउने प्रविधि विस्तार गरिनेछ। यसले दुर्घटनाको जोखिम पहिचान, ट्राफिक व्यवस्थापन र स्वचालित सवारीसाधन सञ्चालनमा सहयोग पुर्‍याउन सक्छ। कृत्रिम बुद्धिमत्ता, डेटा सेन्टर र क्लाउड कम्प्युटिङलाई पनि एउटै संरचनामा जोड्ने योजना छ। उच्च गतिको डेटा प्रसारणका लागि ४०० र ८०० गिगाबिट प्रतिसेकेन्ड क्षमताका मार्ग विकास गर्ने तथा १.६ टेराबिट प्रतिसेकेन्ड प्रणाली परीक्षण गर्ने लक्ष्यसमेत राखिएको छ।

विपद्का बेला सञ्चार सेवा नटुटोस् भनेर दुई हजार सुपर बेस स्टेसन र दुई हजार आपत्कालीन बेस स्टेसन निर्माण गर्ने योजना छ। स्याटेलाइट, ड्रोन र उच्च स्थानमा रहने सञ्चार प्लेटफर्ममार्फत बाढी, भूकम्प र पहिरो प्रभावित क्षेत्रमा सम्पर्क कायम राख्ने तयारी गरिएको छ। साइबर सुरक्षा र डेटा संरक्षणलाई पनि योजनाको महत्त्वपूर्ण हिस्सा बनाइएको छ।

चीनको यो महत्त्वाकांक्षाको आधार उसको फाइभजी पूर्वाधार हो। सरकारी तथ्यांकअनुसार सन् २०२५ को अन्त्यसम्म चीनमा ४८ लाख ३८ हजार फाइभजी बेस स्टेसन सञ्चालनमा थिए। फाइभजी–एड्भान्स्ड सेवा ३३० भन्दा बढी सहरमा विस्तार भइसकेको थियो। यही आधारमा सीक्सजी अनुसन्धान र नयाँ सञ्चार प्रणाली विस्तार गर्ने उसको तयारी छ।

तर घोषणा गर्दैमा प्रविधिको विश्व नेतृत्व हात लाग्दैन। सीक्सजीको अन्तर्राष्ट्रिय मापदण्ड, आवश्यक चिप र उपकरण, ठूलो लगानी तथा साइबर सुरक्षाका चुनौती बाँकी छन्। अमेरिका र अन्य प्रविधि शक्ति पनि यही प्रतिस्पर्धामा छन्।

त्यसैले चीनको वास्तविक सफलता योजनाका आकर्षक लक्ष्यभन्दा तिनको कार्यान्वयनले निर्धारण गर्नेछ। मोबाइलको गतिमा सुरु भएको प्रतिस्पर्धा अब उद्योग, यातायात र अन्तरिक्षसम्म पुगेको छ। सन् २०३० लाई लक्ष्य बनाएर चीनले सञ्चार जगत्मा आफ्नो प्रभाव विस्तार गर्ने दाउ खेलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *