दालमोठ-चिउरा खाएर प्रदर्शनमा उत्रिए सुकुम्बासी (तस्वीरहरू)
काठमाडौं। सरकारले खाना उपलब्ध गराउन बन्द गरेपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी चिउरा र दालमोठ खाएर विरोधमा उत्रिएका छन्।
सरकारले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेको थियो। तर, बसोबासको उचित व्यवस्था नगरी आफूहरूलाई हटाउन खोजिएको भन्दै उनीहरूले सेन्टर छाड्न अस्वीकार गरेका छन्।
सरकारको सूचनालाई बेवास्ता गर्दै उनीहरू प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन्। खाना बन्द भएपछि चिउरा र दालमोठकै भरमा दिन बिताउनुपरेको उनीहरूको अवस्था छ। व्यवस्थापनको सुनिश्चितता नभएसम्म होल्डिङ सेन्टर नछाड्ने उनीहरूको अडान छ।
एकातिर सरकारले निश्चित समयसीमा तोकेर सेन्टर खाली गर्न दबाब दिएको छ भने अर्कोतिर आश्रितहरू बसोबासको टुंगो नलागेसम्म त्यहाँबाट नहट्ने अडानमा छन्। यसले बोडे होल्डिङ सेन्टरको विवाद थप चर्काएको छ।













