बानेश्वर क्षेत्रमा चार दिनसम्म विद्युत् आपूर्ति बन्द
काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणाली भूमिगत गर्ने कामका लागि मंसिर १२ गतेदेखि १५ गतेसम्म विभिन्न क्षेत्रमा विद्युत् कटौती गर्ने भएको हो।
प्राधिकरणको बानेश्वर वितरण केन्द्रका अनुसार प्रभावित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जानेछ।
प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार मंसिर १२ गते शनिबार आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग तथा नापी विभाग आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
त्यस्तै, मंसिर १३ गते आइतबार शंखमूल मार्ग, एभरेस्ट अस्पताल, मुक्ति टावर तथा थ्री ब्रदर्स पेट्रोल पम्प आसपासका क्षेत्रमा बत्ती जानेछ।
मंसिर १४ गते सोमबार अल्फाबेटा, बुद्धनगर तथा बिजुली बजार क्षेत्रमा विद्युत् कटौती हुनेछ भने मंसिर १५ गते मंगलबार वडा नं. ३१ कार्यालय क्षेत्र तथा तीनकुने सरकारी बजार आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
विद्युत् वितरण प्रणाली भूमिगत गर्ने आयोजनाअन्तर्गत केबल जडान, केबल चार्जिङ, स्ट्रक्चर फिटिङ तथा बसबार व्यवस्थापनलगायतका प्राविधिक काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।
निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् आपूर्ति चाँडै सञ्चालनमा आउन सक्नेछ।
साथै, चार दिनसम्म हुने विद्युत् कटौतीबाट प्रभावित क्षेत्रका सर्वसाधारण, व्यवसायी तथा कार्यालयहरूलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।
