पशुपति परिसरमा मिसन लाइफको दौड सम्पन्न


काठमाडौं / भारतीय राजदूतावास, काठमाडौंले वातावरण मैत्री अवधारणालाई प्रवर्धन गर्न उदेश्यले “आजादीका अमृत महोत्सव” अन्तर्गत पशुपति मन्दिर परिसरमा ५ किमि लामो दौडको आयोजना गरेको छ ।
शनिबार आयोजना गरिएको नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झण्डा देखाई शुभारभ्भ गर्नुभएको थियो । दौडमा कलाकार प्रदिप खड्का, पर्वतारोहीद्वय पुर्णिमा श्रेष्ठ र कल्पना महर्जन र नेपालका प्रथम ‘आइरन म्यान’ उपाधी विजेता आलोक खत्री लगायत एक हजार भन्दा बढीको सहभागिता थियो ।
दौड पूरा गर्ने शीर्ष पुरुष तथा महिला धावकलाई मन्त्री किराती र राजदूत श्रीवास्तवले रिसाइकल गरि बनाइएको धातुबाट निर्मित पदक तथा विरुवा प्रदान गरि सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालका जनताले वातावरण मैत्री जीवनशैली अपनाई पृथ्वीलाई बचाउने कार्यमा हातेमालो गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तन विरुद्ध व्यक्ति, परिवार तथा समुदायस्तरबाट भएका संयुक्त प्रयास एवम् योगदानलाई प्रवर्धन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ अक्टोबरमा संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको समुपस्थितिमा मिशन लाइफ को शुरुवात गर्नुभएको थियो । विश्वभरका मानिसलाई सरल एवम् वातावरण मैत्री जीवनशैली अपनाउन प्रोत्साहन गर्नु मिशन लाइफको को उद्देश्य छ ।