‘प्रचण्ड नेतृत्वको सरकार आफैँबीचमा स्वार्थ नमिल्दा छोटो समयमै ढल्छ’ : नैनसिंह महर


दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आफैँबीचमा स्वार्थ नमिल्दा छोटो समयमै ढल्ने बताएक छन् । कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनमा नेता महरले प्रचण्ड नेतृत्वको सरकार तासको महल जस्तो भएको भन्दै यस्तो बताएका हुन् ।
उनले भने, अहिलेको सरकारमा विभिन्न विचार र सिद्धान्त भएका मानिसहरू छन् । उनीहरूबीच आफैँमा लडाइ हुन्छ । यो सरकारलाई कसैले ढलाउनु पर्दैन । आफैँ बीचमा स्वार्थ नमिल्दा छोटो समयमै सरकार आफैँ ढल्नेछ । त्यसैले कांग्रेसका लागि प्रधानमन्त्री, राष्ट्रपति भनेका जनता हुन् । पाँच वर्ष उनीहरूकै बीचमा रहेर काम गर्नुपर्छ । उनले मंगलबार पहिले संसद भवन अगाडि प्रेम आचार्यले आत्मदाह गरेको स्मरण गर्दै त्यो सरकारप्रतिको चरम निराशाको उदाहरण भएको बताए ।
उनले नयाँ आएका दलहरूप्रति पनि युवाको आसा मर्दै गएको टिप्पणी गरे । मुलुकमा केही गर्छु भन्ने युवाले आत्मदाह गर्ने अवस्था सिर्जना हुनुले हाम्रो मुलुक कता गइरहेको छ भन्ने चिन्ता लागिरहेको उनले बताए । कांग्रेस सत्ताको खेलमा लाग्न नहुने उनको भनाई छ ।