`

एक क्षण पनि गणतन्त्रको पक्षमा उभिएको छैन : लिङ्देन [भिडियाे]

Nepal One HD २८ भदौ २०८३ १३:४९
बिशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो नेतृत्वमा पार्टीलाई राष्ट्रिय शक्ति बनाउने दाबी गरेका छन्। उनले आफ्नो राजनीतिक यात्रामा पार्टीलाई कुनै पनि किसिमको क्षति नपुर्‍याएको जिकिर गर्दै आगामी दिनमा पनि राप्रपाको हितविपरीत कुनै काम नगर्ने बताएका छन्।

काठमाडौँमा आयोजित काठमाडौँ जिल्लाको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा लिङ्देनले आफू राजनीतिक रूपमा गणतन्त्रको पक्षमा कहिल्यै नउभिएको दाबी गर्दै आफूलाई राजसंस्था र पार्टीको विचारप्रति निरन्तर प्रतिबद्ध नेताका रूपमा प्रस्तुत गरेका छन्।

‘राप्रपालाई राष्ट्रिय शक्ति बनाउँछु। यो पार्टीलाई मेरो कारणले कहिल्यै घाटा हुँदैन। राजेन्द्र लिङ्देन एकमात्रै त्यस्तो मान्छे हो, जो एक क्षण पनि गणतन्त्रको पक्षमा उभिएको छैन,’ उनले भने। 

उनले आफ्नो लामो राजनीतिक यात्रामा भ्रष्टाचार नगरेको दाबीसमेत गरेका छन्। आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै जुनसुकै मन्दिरमा गएर त्यसको प्रमाण दिन सक्ने उनको भनाइ छ।

लिङ्देनले अगाडि थपे, ‘यति लामो राजनीतिक यात्रामा एक रुपैयाँ भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्ने ताकत राख्दछु। त्यो चिजलाई यो जीवनमा मात्रै होइन, अर्को जीवनमा पनि कायम राखेर जान्छु।’

लिङ्देनले आफू राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति लज्जित हुनुपर्ने कुनै काम नगरेको दाबी गरे। उनले आफ्नो राजनीतिक भूमिकाका कारण पार्टी अध्यक्षलाई शिर झुकाउनुपर्ने अवस्था कहिल्यै नआउने पनि बताए।

‘राजेन्द्र लिङ्देन हाम्रो अध्यक्ष हो भन्दा मुख लुकाउने र थुक्क भन्नुपर्ने काम मैले गरेको छैन,’ उनले भने, ‘जबसम्म राजनीतिमा रहन्छु, तबसम्म कसैको शिर झुक्ने काम गर्दिनँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *