‘राष्ट्रपतिमा हाम्रो उम्मेदवारलाई माओवादीले सघाउँछ’ : प्रवक्ता महत


काठमाडौं । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने बताएका छन् । उनले माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने बताउदै त्यसको बदलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचै वर्ष प्रधानमन्त्री हुने बताएका हुन् ।
उनले भने, अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुन्छ । संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुन्छ । किनभने अहिले वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन । एमाले पार्टी र यसका नेता केपी शर्मा ओलीजीले जसरी संसदको पहिलो बैठकमा नै संसद विघटनको विषयलाई मूल विषय बनाउनु भयो, त्यस सन्दर्भमा पनि राष्ट्रपतिको पद महत्वपूर्ण भएको छ । राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसके यो संविधानको रक्षाको पक्षधर पार्टीहरु छन् ती एक ठाउँमा उभिएर कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनुपर्छ ।’
राष्ट्रपति नेपाली कांग्रेसको हुने वा नहुने भन्ने गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने प्रमुख रहेको प्रवक्ता महतको भनाई छ । एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्नेकुरालाई ध्यान दिन जरुरी रहेको पनि उनले सुझाएका छन् ।