`

राष्ट्रपतिमा पौडेललाई भोट माग्दै ओलीलाई पठाए देउवाले पत्र

Nepal One HD १६ फागुन २०७९ १२:२०
प्रमुख खबर

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट मागेका छन्।


नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर पत्र बुझाएका थिए ।गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए।

देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ उम्मेदवार छन् ।

देउवाले ओलीलाई पठाएको पत्र यस्तो छ  :-

श्री केपी शर्मा ओलिजी,
अध्यक्ष, नेकपा एमाले 

बिषय: राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत प्रतिस्पर्धाका लागि 

यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरुप आ-आफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौंl

लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौंl यो अभ्यासले समाजलाई सु-संस्कृत सन्देश दिन सक्नुपर्छl त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु। राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छुl 

राष्ट्रपति केबल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौंl यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म वृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सु-संस्कृत अभ्यासको खोजी हुन्छl

विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छl यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु l

सालिन, बौद्धिक र सु-संस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहहरुभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छl

संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रुपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु हामी सबैको साझा दायित्व होl यो दायित्व तपाईं, हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छुl 

जय नेपाल 

शेरबहादुर देउवा 
सभापति, नेपाली कांग्रेस 
०७९ फागुन १५


प्रतिक्रिया