नेपालका सर्वाधिक अनुभवी क्रिकेटरको अबको यात्रा कस्तो होला ?


आजको दिनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ज्ञानेन्द्र मल्लको भूमिका ‘१२ औँ खेलाडी’ का रूपमा छ।१२ औँ खेलाडी अर्थात् ‘वाटर ब्वाइ’ वा भनौँ मैदान बाहिरका खेलाडी।
उनी मैदानभित्र छ जस्तो पनि, छैन जस्तो पनि। टोलीमा हो जस्तो पनि, होइन जस्तो पनि। यद्यपि कीर्तिपुर क्रिकेट मैदानमा आइसीसी विश्वकप लिग-२ का बेला यी वैकल्पिक खेलाडी क्रिकेट प्रेमीहरूको आँखामा भने मज्जाले परिरहे।
टोलीमा एक-एक खेलाडीको भूमिका कति महत्त्वपूर्ण हुन्छ र त्यो कसरी बहन गरिन्छ भन्ने कुराको उदाहरण उनले पस्किए। उनको भूमिकालाई लिएर अहिले एउटा बहस नै छेडिएको अवस्था छ।
कम्तीमा ज्ञानेन्द्र मल्ल जतिको सिनियर खेलाडीलाई ‘वाटर ब्वाइ’ बनाइनु हुन्न भन्ने आवाजहरू एकातिर उठिरहेका छन्।अर्कोतिर कतिपय आलोचकले उनलाई टोलीमा ‘राख्नै नहुने’ तर्क पनि पेश गरिरहेका छन्।
यद्यपि यी सबै उतारचढावमा बहँदै गरेका ज्ञानेन्द्र मल्ल भने आफ्नै धुनमा देखिन्छन्।वर्तमान टोलीकै सबैभन्दा पाका खेलाडी उनी आफ्नो आगामी यात्राका लागि स्पष्ट योजना बोकेर अगाडि बढिरहेका छन्।उनी भन्छन् – “म को हुँ मलाई थाहा छ। के गरिरहेको छु हेक्का छ र मैले के गर्नुपर्छ त्यो पनि मैले स्पष्ट बुझेको छु।”
पारस-ज्ञानेन्द्रको जोडी
नेपाली क्रिकेटको ‘स्वर्णिम टोली’ भनिएको राष्ट्रिय टोली (जसले टी-२० विश्वकप खेलेको थियो) का पाँच मुख्य खेलाडीमा पारस खड्का, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी सँगै ज्ञानेन्द्र मल्लको नाम आँउछ।
ज्ञानेन्द्र लामो समय कप्तान पारसको भरपर्दो उपकप्तानको भूमिकामा रहे। नेपाली क्रिकेटले एकपछि अर्को सफलताको तहल्का मच्चाइरहँदा उनले अहम् सदस्यको भूमिका निर्वाह गरिरहे।डिभिजन-५ देखि पहिलो डिभिजनसम्म र विश्वकप सहभागितादेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) सम्मको नेपाली क्रिकेटको यात्रामा उनी टोलीका अभिन्न अङ्ग बने।
पारस र उनको नाममा त सदावहार ‘ट्रोल’ नै छ। पूर्व युवराजका रूपमा पारसको अनि पूर्व राजाका नाममा ज्ञानेन्द्रको नाम। जति बेला यी दुई क्रिजमा हुन्थे, मानिसहरूमाझ राजसंस्थासँग जोडिएर एउटा कथा बनिहाल्थ्यो।
त्यो युगको इतिहास त स्वर्ण अक्षरले लेखिसकिएको छ। बरु त्यो इतिहास रच्न यिनीहरुले के के मात्र देखे, भोगे, त्यसको छुट्टै कथा छ।
उदाउँदो खेल
पारस-ज्ञानेन्द्र नेतृत्वको यु -१९ टोलीले एकपछि अर्को सफलता पाउने क्रममा टोलीले तीन पटक युवा विश्वकप खेल्यो।नेपाली युवा टोलीले टेस्ट क्रिकेट खेल्ने अग्रणी राष्ट्रलाई धमाधम हराउनु सपना जस्तै नै थियो त्यो बेला।
युवा खेलाडीहरू त्यो सफलतामा नै दङ्ग थिए। न कुनै ठूलो सपना न कुनै भविष्यको योजना, खेल्न र जित्न पाए पुग्थ्यो।उनी सम्झिन्छन् – “अरू कुराको त हेक्का सम्म थिएन त्यो बेला।”सन् २००० देखिको एक दशकमा नेपाली क्रिकेट पनि वास्तविक आकार लिने क्रममा नै थियो।
“बल लागेपछि हाम्रो ब्याटको आवाज बेग्लै तरिकाले आउँथ्यो। बाउन्ड्री हुनुपर्ने बल क्याच हुन जाने, – ढङ्गको ब्याट नभएर।” मल्ल सम्झिन्छन् – “अनि कसैको राम्रो ब्याट छ भने कोही आउट भएर फर्केपछि जो नयाँ खेलाडी छिर्छन्, उसलाई राम्रो ब्याट खोजी खोजी दिइहाल्ने, बढी रन बनाओस् भनेर।”
ब्याट त उदाहरण मात्रै भयो। नेपाली क्रिकेटको हरेक पक्ष त्यस्तै थियो। अभावसँग अभ्यस्त थिए खेलाडीहरू। सन् २०१० मा नेपालले डिभिजन-५ घरेलु मैदानमै खेल्दै थियो। नेपाल क्रिकेट सङ्घका तत्कालीन अध्यक्ष विनयराज पाण्डेले उपाधि जिते प्रत्येक खेलाडीलाई ५० हजार रुपैयाँ दिने घोषणा गरे।
खेलाडीहरूले पहिलो पटक यति ठूलो रकम सुनेका थिए क्यानको मुखबाट।मल्ल सम्झिन्छन् -“हामीलाई थाहा छ, त्यो बेला त्यो घोषणापछि खेलाडीहरूमाझ खुशी कस्तो थियो।”
नेपालले डिभिजन-५ जित्यो पनि र खेलाडीहरू प्रत्येकले ५० हजार नगद पाए पनि।अर्को शब्दमा भन्दा खेरि नगद पुरस्कार पाउने शृङ्खलाको श्री गणेश त्यहाँबाट भयो।
बर्मुडाको बहस
सन् २०१३ मा बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन-३ खेलिरहेको नेपालले शुरुको दुई खेल अमेरिका र युगाण्डासँग लगातार हार्यो।अबको एक हारले नेपालको अगाडिको यात्रा रोकिन्थ्यो।टोलीमा गम्भीर शून्यता छाइसकेको थियो।होटल कोठामा सबैजना जम्मा भए।
खेलाडीहरू यति गम्भीर बने की पारसले कप्तानी अनि ज्ञानेन्द्रले उपकप्तानी छोड्ने सम्मको सल्लाह भयो। अब नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने योजना बुनियो।
प्रशिक्षक पुबुदु दशानायके पनि साथमा थिए। उनको भनाइ थियो-“तिमीहरुले जितेमा मात्र नेपाली क्रिकेटको आवाज पुग्छ। त्यसको लागि जित्न जरुरी छ।”झण्डै झण्डै खस्किसकेको टोलीको मनोबल फेरि उकासियो। त्यसपछि नेपालले बाँकी सबै खेल जित्यो।
आफू जितेर मात्र नपुग्ने अनि अन्तिममा बर्मुडाले अमेरिकालाई हराउनुपर्ने र नेपालले इटलीलाई ठूलो अन्तरमा जित्नुपर्ने अवस्थासम्म सिर्जना भयो। ठ्याक्कै त्यस्तै भइदियो पनि।फाइनलमा बर्मुडालाई नै हराएर च्याम्पियन हुँदै डिभिजन २ मा बढुवा भयो। त्यतिमात्र होइन २०१५ को विश्वकप क्वालिफायरको लागि पनि छनोट भयो।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।