उपमेयर कप भलिबल सम्पन्न
हेटौंडा। आठौं संस्करणको वडास्तरीय उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ हेटौंडा-५ र पुरुषतर्फ हेटौंडा-१९ ले जितेका छन्।
महिलातर्फको फाइनल खेलमा हेटौंडा-५ ले हेटौंडा-१२ लाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा पारेको हो। त्यस्तै पुरुषतर्फको फाइनलमा हेटौंडा-१९ ले हेटौंडा-११ विरुद्ध ३-२ को सेटमा जित निकाल्दै उपाधि जितेको हो।
महिलातर्फ विधागत पुरस्कारमा हेटौंडा-५ की आयुष्मा उप्रेती सेटर, अप्सना उप्रेती सर्भर, नमुना थिङ स्पाइकर र हेटौंडा-१२ की प्रशंसा भोम्जन डिफेन्डरमा उत्कृष्ट घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सलिना मगर र उत्कृष्ट कोच आशीष राई बने।
पुरुषतर्फ हेटौंडा-१९ का विशेष थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भए। सुवास सुबेदी कोच, क्रिस लामा सेटर, हेटौंडा-११ का निश्चल कौचा ब्लकर, निरन सापकोटा डिफेन्डर र कुशल स्पाइकरमा उत्कृष्ट बने।
प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।
