एसीसी प्रिमियर कप : मलेसियाविरुद्ध नेपालको सानदार जित


काठमाडौं / एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले सानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
मलेसियाले नेपाललाई जितका लागी २३६ रनको लक्ष्य दिएको थियो । नेपाललाई सहज जीत दिलाउने क्रममा कुशल मल्ल र भीम सार्कीले अर्धशतकीय योगदान गरे ।
मल्लले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा अविजित ७० तथा सार्कीले ५ चौकाको मद्दतमा ७१ रन जोडे । दीपेन्द्रसिंह ऐरी ५ रनमा नटआउट रहे ।
नेपालको बलिङमा सोमपाल कामी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए । ललीत राजवंशीले दुई विकेट लिँदा गुलसन झाले एक विकेट लिएका हुन् ।
मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको पारी खेले । मलेसियालाई सम्मानजनक स्थितिसम्म लैजाने क्रममा विरेनद्वीप सिंहले ४६ रन ,मोहमद अमिरले १७ रन , सायद अजिज १३ रन, खिजार हायात २२ रन को योगदान गरेका थिए ।
प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान, कतार र साउदी अरेबिया तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।
उपाधि जित्ने टोलीले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।