कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौँ – कर्णाली प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।
नेपाली कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका हुन् । यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् ।
साथै, कर्णाली प्रदेशमा मन्त्रालयको संख्या पनि आठ नै बनाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई टुक्रयाएर ऊर्जा छुट्टै बनाएको थियो ।
यसअघि एमाले(माओवादीको गठबन्धनमा ऊर्जालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा गाभिएको थियो ।
